गौरीवासमा सम्पन्न प्रथम खुल्लामञ्च भलिबल कपको उपाधि सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासलाई

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिबास

तिहार (दीपावली) र छठ पर्वको शुभ अवसरमा गौरीवास युथ क्लबद्वारा आयोजना गरिएको “प्रथम खुल्ला मञ्च भलिबल कप–२०८२” भव्यताका साथ सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस रोमाञ्चक प्रतियोगिताको फाइनल खेलमा छिन्नमस्ता बाहिनी बर्दिबास–०४ (शसस्त्र प्रहरी) ले गंगोत्री इङ्लिस सेकेन्डरी स्कुल, महेन्द्रनगर धनुषालाई ३–२ सेटको कडा प्रतिस्पर्धात्मक अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगिता असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म बर्दिबास–३ स्थित गौरीडाँडा खुल्ला मञ्चको खेलमैदानमा सम्पन्न भएको थियो। यस  खेलमा सिन्धुली, महोत्तरी, धनुषा र सर्लाही जिल्लाका ८ उत्कृष्ट टिमहरूले सहभागिता जनाएका थिए।

विजेता प्रथम टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफी प्राप्त गर्दा उपविजेता दोस्रो टिमले रु. ५१ हजार सहित ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ।

आयोजक गौरीवास युथ क्लबका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य गौरीडाँडा खुल्ला मञ्च तथा खेलमैदानको स्तर उन्नति गर्नु र स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित तथा प्रोत्साहित गर्नु रहेको हो। खेलकुदका माध्यमबाट समुदायमा एकता, अनुशासन र स्वास्थ्यप्रति चेतना जगाउने उद्देश्य पनि रहेको क्लबले उल्लेख गरेको छ।

कार्यक्रमलाई सफल बनाउन बर्दिबास नगरपालिकाले रु. २ लाख आर्थिक सहयोग गरेको थियो। साथै, स्थानीय समुदाय, खेलप्रेमी तथा व्यापारीहरूको उल्लेखनीय सहयोग र उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।तीन दिनसम्म चलेको यो प्रतियोगिता खेलप्रेमीहरूको लागि मनोरञ्जन मात्र नभई, स्थानीय खेल संरचना विकासतर्फको प्रेरक कदमका रूपमा पनि लिइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...