आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै कुशवाहालाई पुनः निलम्बन गरेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहा यसअघि पनि अख्तियारको नियन्त्रणमा परेका थिए। जेठ २९ गते अख्तियारले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेपछि उनी निलम्बित भएका थिए। तर, पछि अदालतमा आरोपपत्र नपुगेको र कुशवाहा धरौटीमा रिहा भएकाले भदौ १३ गते प्रदेशसभा सचिवालयले उनको निलम्बन फुकुवा गरेको थियो।
पछिल्लो समय अख्तियारले थप प्रमाणका आधारमा कुशवाहामाथि पुनः भ्रष्टाचारको आरोप दायर गरेको जनाएको छ। आयोगका अनुसार उनले उपभोक्ता समितिहरू गठन गरी ती समिताबाट उठेको रकम आफ्ना निजी सचिव विनोदलाल कायस्थमार्फत आफ्नै व्यक्तिगत खातामा जम्मा गरेका थिए। सोही कार्यलाई गैरकानुनी ठहर गर्दै अख्तियारले कुशवाहामाथि मुद्दा चलाएको हो।
महोत्तरी क्षेत्र नम्बर ४(क) बाट निर्वाचित सांसद कुशवाहाको निलम्बनले मधेश प्रदेशको हालै गठन भएको सोनल नेतृत्वको सरकारमा राजनीतिक तरंग ल्याएको छ। मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले ५६ सांसदको समर्थनमा सरकार गठन गरेका थिए। तर, जनमत पार्टीका दुई सांसदले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतको जोखिममा परेको छ।
अब कुशवाहाको निलम्बनसँगै सरकारको समर्थन सङ्ख्या थप घट्ने देखिएको छ। हाल मधेश प्रदेशसभामा १०७ सदस्य छन्, जसमा कुशवाहासहित एमालेका दीपेन्द्र ठाकुर र अभिराम शर्मा गरी तीन सांसद निलम्बित भइसकेका छन्। यस अवस्थाले मुख्यमन्त्री सोनलको विश्वासको मत प्रक्रियामा थप जटिलता निम्त्याउने विश्लेषकहरूको भनाइ छ।
