आफन्तलाई राहत बाडिएको आरोप लगाउँदै बाढी पीडित आन्दोलित

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाही

सर्लाहीको कौडेना गाउँपालिकामा बाढी पीडितहरूले राहत वितरणमा भएको अनियमितताका विरुद्ध सडकमा उत्रिएका छन्। जनप्रतिनिधिहरूले राहत वितरणमा पक्षपात गरी आफन्त र निकट मान्छेलाई प्राथमिकता दिएको भन्दै उनीहरूले पूर्व–पश्चिम हुलाकी राजमार्गमा चक्काजाम गरी प्रदर्शन गरेका हुन्।

असोज १८ गते परेको लगातार वर्षापछि लखन्देखी खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३, पर्सा टोलका सयौँ घरहरू डुबानमा परेका थिए। बाढीपीडितहरूले राहत वितरणमा निष्पक्षता नदेखिएको र वास्तविक पीडितहरू बेवास्ता गरिएको आरोप लगाएका छन्।

पीडित विनोद मण्डल धानुकका अनुसार बाढीले घरभित्रै पानी पसेर अन्न–वस्त्र सबै नष्ट गरेको भए पनि राहतको नाममा केही हात नपरेको बताए । उनले भने “हामीजस्ता वास्तविक पीडित भोकै बसिरहेका छौँ, तर जनप्रतिनिधिका नातेदारहरूले राहतको मजा लिइरहेका छन्,” राहत वितरणमा पारदर्शिता नहुँदा आक्रोशित स्थानीय महिला, पुरुष र बालबालिका समेत सडकमा उत्रिएका थिए। उनीहरूले ‘वास्तविक पीडितलाई राहत दे’, ‘पक्षपात बन्द गर’ जस्ता नारासहित घण्टौँसम्म सडक अवरुद्ध पारे।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले राहत वितरणमा केही त्रुटि हुनसक्ने स्वीकार गरेका छन्। उनका अनुसार ठूलो संख्यामा राहत वितरण गर्दा केही पीडित छुट्न पुगेका र कतिपय असल अवस्थाका व्यक्तिहरूले पनि राहत लिएका हुन सक्छन्।

“हामीले राहत ल्याउने सबै संस्थालाई स्पष्ट निर्देशन दिएका छौँ— राहत वितरण गर्दा कुनै पनि पार्टी, मतदाता वा आफन्तको आधारमा विभेद गर्न पाइँदैन,” अध्यक्ष बब्लुले भने। उनले थपे, “यदि कसैले मनलाग्दी रूपमा वितरण गरेको प्रमाण भेटिए, कानूनी कारबाही हुन्छ।”

हाल कौडेना, रामनगर, बलरा लगायतका बाढी प्रभावित क्षेत्रमा गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाहरूले राहत वितरण कार्य गरिरहेका छन्। तर वास्तविक पीडितले अझै पर्याप्त राहत नपाएको गुनासो सर्वत्र छ।

स्थानीयहरूका अनुसार बाढीले घर, अन्न, जनावर र कृषियोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको छ। राहतका नाममा भएको असमान व्यवहारले गाउँमा असन्तुष्टि र विभाजन बढाएको उनीहरूको भनाइ छ।

पीडितहरूले आगामी दिनमा निष्पक्ष सूचीका आधारमा राहत वितरण गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्, ताकि वास्तविक पीडितले राहत पाउँन् र विपत्तिबाट पुनःस्थापना गर्न सकून्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...