‘सेवाका लागि आएको हुँ, प्रदर्शनका लागि होइन’ — मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेस प्रदेशका नयाँ मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आफ्नो नेतृत्व प्रदर्शन वा सत्ताको रमाइलोका लागि नभई जनताको सेवाका लागि आएको बताएका छन्।

पद तथा गोपनीयताको शपथ लिएलगत्तै सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, “म पदको आनन्द लिन होइन, जिम्मेवारी निभाउन आएको हुँ। तपाईंहरूले पनि जान्नुभएको छ, मन्त्री हुँदा दिनमा १६–१८ घण्टा काम गर्थें। अब पनि त्यही निरन्तरता रहनेछ।”

भोजपुरी भाषामा शपथ लिएका मुख्यमन्त्री सोनलले अंग्रेजी शब्दहरू मिसाउँदै सहज ढंगमा प्रतिक्रिया दिएका थिए। उनले आफू पूर्ण होइन तर जनताको सेवामा समर्पित मान्छे भएको उल्लेख गर्दै कमजोरी भए सच्याउन आग्रह पनि गरे।

“म देवता होइन, सामान्य मानिस हुँ। काम गर्ने क्रममा त्रुटि वा असुविधा भए खुलेर भन्नुहोस्, हामी सुधार्नेछौं,” उनले भने।

सोनलले आफ्नो सरकार जनताको अधिकार र संघीय लोकतान्त्रिक मूल्यको संरक्षणमा केन्द्रित रहने उल्लेख गरे। उनले हालको राजनीतिक परिस्थितिलाई चुनौतीपूर्ण भन्दै मधेस प्रदेशलाई स्थायित्व, सुशासन र समृद्धिको बाटोमा अघि बढाउने संकल्प व्यक्त गरे।

“जेनजी आन्दोलनले ल्याएको जनचेतना र अपेक्षालाई सम्बोधन गर्न अब सरकार जिम्मेवार बन्नुपर्छ। जनताको मत पुनः जित्ने काम सेवा र परिणामबाट मात्र सम्भव हुन्छ,” सोनलले भने।

उनका अनुसार सरकारको प्राथमिकता संघीय गणतन्त्रलाई संस्थागत गर्दै सशक्त सेवा वितरण, पारदर्शी प्रशासन र सुशासनमा रहनेछ।

“हामी निमुखा जनतालाई अधिकार सम्पन्न बनाउने, जनसेवामा तत्पर र उत्तरदायी शासन प्रणाली स्थापित गर्ने दिशामा काम गर्नेछौं,” उनले थपे।

मुख्यमन्त्री सोनलले गठबन्धनका सबै दलहरूले प्रदेशको समृद्धि र विकासका साझा एजेन्डामा एकसाथ काम गर्ने दृढता पनि जनाए।
“आजको चुनौती विकास र समृद्धिको हो। गठबन्धन मिलेर अहोरात्र परिश्रम गर्नेछ,” उनले भने।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार नियुक्त गरेपछि बिहीबार उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...