जसपा मधेश प्रदेश अधिवेशनमा विवाद

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

जनकपुरधाममा जारी जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशनमा नेतृत्व चयनको क्रममा आन्तरिक विवाद चर्किएको छ।

अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु भएको निर्वाचन प्रक्रियामध्ये नै एक पक्षले असन्तुष्टि जनाउँदै सम्पूर्ण निर्वाचन बहिष्कार गरेको घोषणा गरेको हो।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले निर्वाचन प्रक्रिया निष्पक्ष र विधानअनुसार नभएको आरोप लगाउँदै अधिवेशन बहिष्कार गर्ने निर्णय सार्वजनिक गरे। यादवको नेतृत्वमा रहेको प्यानलका सबै उम्मेदवारहरूले पनि उनको निर्णयको समर्थन गर्दै निर्वाचनमा भाग नलिने बताएका छन्।

उनले पार्टीको विधानविपरीत प्रतिनिधि छनोट गरेर अधिवेशन सञ्चालन गरिएको भन्दै यस्तो प्रक्रियामा सहभागी हुनु अन्याय हुने टिप्पणी गरे। यादवका अनुसार अर्का अध्यक्ष पदका उम्मेदवार बालकिशोर यादवले आफ्नो समूहका कार्यकर्तामार्फत हुलका हुल प्रतिनिधि चयन गरेकाले निष्पक्ष वातावरण समाप्त भएको छ।

यादवको समर्थनमा रौतहट, सप्तरी, धनुषा, बारा र सर्लाहीका जिल्ला अध्यक्षहरूले पनि संयुक्तरूपमा अधिवेशन बहिष्कारको घोषणा गरेका छन्। उनीहरूले निष्पक्षता कायम नभएसम्म निर्वाचन मान्य नहुने बताएका छन्।

यता, अधिवेशन आयोजक समितिले भने निर्धारित कार्यतालिका अनुसार मतदान र उम्मेदवारी दर्ता प्रक्रियालाई अघि बढाएको जनाएको छ। बहिष्कारको घोषणा गरेका समूह बाहेकका उम्मेदवार र प्रतिनिधिहरू सहभागी रहँदै बाँकी निर्वाचन कार्य अघि बढाइएको समितिको भनाइ छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...