आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिए पनि कुनै निष्कर्ष ननिस्किँदा प्रदेश प्रमुखको कार्यालयमा राजनीतिक सरगर्मी तीव्र बनेको छ । दुई अलग–अलग दाबी परेपछि कार्यालय परिसरमा तनावपूर्ण वातावरण सिर्जना भएको हो ।
बुधबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) ले ६ दलका ५७ सांसदको समर्थनसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मुख्यमन्त्री बन्ने दाबी पेस गरेका थिए । उनको दाबीमा लोसपाका साथै नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र स्वतन्त्र सांसदहरूको समर्थन रहेको दाबी गरिएको थियो ।
तर सोही क्रममा जनमत पार्टीका दुई सांसद — सतिशकुमार सिंह र त्रिभुवन साह — ले पछि निर्वाचन आयोगमा जनस्वराज पार्टी रोज्दै सनाखत गरेपछि सोनलको दाबीमा परेको समर्थनको संख्या विवादित बनेको छ । यसले राजनीतिक समीकरण झनै जटिल बनाएको छ ।
उता, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि नेकपा (एमाले) र जनमत पार्टीका सांसदहरूको समर्थनसहित ५८ जनाको बहुमत देखाउँदै सरकार गठनको दाबी पेश गरेका छन् । यसरी दुई पक्षबीच प्रतिस्पर्धात्मक दाबी परेपछि प्रदेश प्रमुखको निर्णय पर्खाइमा सबैको ध्यान केन्द्रित भएको छ ।
यसबीच, प्रदेश प्रमुखको कार्यालय परिसरमा दुवै पक्षका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ । सम्भावित विवादलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यालय स्रोतका अनुसार दुवै पक्षबीच छलफल जारी छ र अन्तिम निर्णयको तयारी भइरहेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि बुधबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी थिइन् । तर समय सकिँदासम्म पनि स्थायी निष्कर्षमा पुग्न नसक्दा प्रदेशको राजनीतिक अवस्था अनिश्चित बनेको छ ।





































