आज्ञा खबर
सर्लाही
लालबन्दी नगरपालिका–३ जब्दी भैरवपुरकी दलित वडा सदस्य जयलस देवी पासवानको निधन भएको छ।
६० वर्षीया पासवान लामो समयदेखि मृगौला र उच्च रक्तचापजस्ता स्वास्थ्य समस्याबाट पीडित थिइन्। आज बिहान आफ्नै निवासमा उनको निधन भएको वडा अध्यक्ष बुद्धदेव चौधरीले जानकारी दिए। चौधरीका अनुसार, उनको अन्त्येष्टि फूलजोर र कालिन्जोर खोलाको दोभानमा भ एको छ।
निवर्तमान वडा सदस्यका रूपमा स्थानीय विकास र जनसेवामा सक्रिय रहिएकी पासवानप्रति नगरप्रमुख वासुदेव अधिकारीलगायत जनप्रतिनिधि र स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनको असामयिक निधनले लालबन्दी नगरपालिका शोकमग्न बनेको छ। नगरप्रमुख अधिकारीले दुःख प्रकट गर्दै भोलि (बुधबार) लालबन्दी नगरभर एक दिनको सार्वजनिक बिदा दिने जानकारी दिएका छन्।
जनप्रतिनिधिको निधनमा शोक दिवस मनाउने प्रचलनअनुसार पालिकाले कार्यालय र विद्यालयहरू बन्द गर्ने निर्णय गर्न लागेको हो।
पासवानको निधनले दलित समुदाय मात्र होइन, समग्र लालबन्दीका नागरिकले एक समर्पित र सहृदय जनप्रतिनिधि गुमाएको महसुस गरेका छन्।





































