आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमतको सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेकी छन्। उनले भोलि (बुधबार) अपराह्न ४ बजेसम्म आवश्यक समर्थनसहित सरकार गठनका दाबी पेश गर्न दलहरूलाई समय तोकेकी छन्।
प्रदेशमा राजनीतिक समीकरण फेरबदलको क्रममा केही दिनअघि नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टी र नेकपा (एमाले) सँगको सहकार्यमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव अघि सारेका थिए। यद्यपि, अन्य दलहरूबाट हालसम्म औपचारिक दाबी पेश नभएकोले भोलिसम्म पनि वैकल्पिक प्रस्ताव नआएमा यादवको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो देखिएको छ।
यसअघि, वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिनुपर्ने कार्यसूची बीच नै पदबाट राजीनामा घोषणा गरेका थिए। उनको राजीनामा प्रदेश प्रमुख सुवेदी भण्डारीले स्वीकृत गरेपछि सिंहको नेतृत्वमा रहेको सरकारको औपचारिक अन्त्य भएको हो।
अब मधेश प्रदेशको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ, जहाँ आगामी २४ घण्टा सत्ता समीकरण र नेतृत्व चयनका दृष्टिले निर्णायक बन्ने अनुमान गरिएको छ।
