आज्ञा खबर
बर्दिवास
महोत्तरीको जलेश्वरस्थित जिल्ला कारागारबाट जेनजी आन्दोलनको अव्यवस्थित प्रदर्शनका बीच भागेका कैदीबन्दीमध्ये केही दिनमै दुई सय ३३ जना स्वेच्छाले फर्किएका छन्। तर अझै पनि तीन सय ४३ जना फरार अवस्थामा रहेका कारण खोजी अभियान तीव्र पारिएको छ।
गत भदौ २४ गते बेलुकी करिब ७ बजे करिब ५०० जनाको समूहले आफूलाई जेनजी समर्थक भन्दै कारागार कार्यालयमा धावा बोलेर तीन तहका ढोका तोड्दै सबै ५७६ कैदीलाई भगाएको कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिए। उनीहरूमा ४० जना भारतीय नागरिकसमेत रहेका थिए।
कारागार प्रशासनले भोलिपल्टै अर्थात् भदौ २५ गते सार्वजनिक अपिल जारी गरी कैदीबन्दीलाई स्वेच्छाले फर्किन आग्रह गरेको थियो। उक्त अपिलपछि क्रमशः दुई सय ३३ जना फर्किएका जेलर क्षेत्रीले बताए। फर्किएका मध्ये १२ जनालाई भारततर्फ भाग्ने क्रममा भारतीय प्रहरीले पक्राउ गरी पुनः नेपाली पक्षलाई बुझाएको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार हाल फरार रहेका तीन सय ४३ जनाको खोजीका लागि जिल्ला प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन गरिएको छ।
यस घटनाले कारागार सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
