आज्ञा खबर
जनकपुरधाम
जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त मधेश प्रदेशसभा भवनमा साधारण व्यवस्थामार्फत आगामी सभा बैठक सञ्चालन हुने भएको छ।
शनिबार प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे बैठक आह्वान गर्ने निर्णय गरेको हो।
सभामुख मण्डलले प्रदेशसभामा रहेका सबै दलबीच संघीयताको संरक्षण र सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताए। “संघीयताको पक्षमा मधेश एकजुट छ भन्ने सन्देश दिन सबै दल सहमत भएका छन्,” उनले भने।
आन्दोलनका क्रममा आगजनी र तोडफोडले मुख्य सभाहलसहित सचिवालयभित्रका अन्य भवन र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको छ। सभामुखका अनुसार सम्पत्ति क्षतिको प्रारम्भिक अनुमान ३० करोड रुपैयाँभन्दा बढी छ।
भवनभित्रका सम्पूर्ण फर्निचर र सामग्री जलेर नष्ट भएकाले हालका लागि सामान्य मर्मतपछि प्लास्टिकको कुर्सीमा बैठक बस्ने तयारी गरिएको सचिवालयले जनाएको छ।
