आज्ञा खबर
जनकपुरधाम
जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशका प्रमुख प्रशासनिक संरचनामा भएको क्षतिपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा अनुगमन गरेका छन्।
शुक्रवार बिहान भएको निरीक्षणमा उनीहरूले प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, विभिन्न मन्त्रालय र अन्य सरकारी कार्यालयको प्रत्यक्ष अवलोकन गरे। अनुगमनमा सभामुख रामचन्द्र मण्डल, मन्त्रीहरू र प्रदेश सांसदहरू पनि सहभागी थिए।
अनुगमनपछि मुख्यमन्त्री सिंहले तत्कालीन अवस्थाअनुसार सेवाप्रवाह सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै आन्दोलनका क्रममा करिब ९९ प्रतिशत सरकारी सवारीसाधन जलेको तथ्यांक सार्वजनिक गरे। उनले क्षतिको विस्तृत विवरण संकलन भइरहेको र छिट्टै प्रतिवेदन आउने पनि बताए।
प्रदेश प्रमुख भण्डारीले जनतासामु सेवा निरन्तरता सुनिश्चित गर्न सबै निकायलाई जिम्मेवार रहन आग्रह गर्दै क्षतिग्रस्त संरचनाको द्रुत पुनःस्थापना गर्नुपर्नेमा जोड दिइन्।
यसअघि जेनजी आन्दोलन तीव्र बन्दा प्रदेशको राजनीतिक तथा प्रशासनिक केन्द्रमा आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको थियो।






