जनकपुरधाममा मुख्यमन्त्री सिंह र सभामुख मण्डलबीच भेट, प्रदेशसभाको क्षतिपूर्ति र बैठक सञ्चालनबारे छलफल

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र सभामुख रामचन्द्र मण्डलबीच आज जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा भेटवार्ता भएको छ।

भेटमा हालैको जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय र अन्य संरचनामा भएको क्षति, त्यसबाट उत्पन्न चुनौती र आगामी व्यवस्थापनका विषयमा व्यापक छलफल गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए।

प्रदेशसभाको भवन, संसदीय दलका कार्यालय, मुख्यमन्त्रीको कार्यकक्षसहितका संरचना आगजनी र तोडफोडका कारण नष्ट भएपछि तत्काल बैठक सञ्चालन असम्भव देखिएको सभामुख मण्डलले जानकारी दिएका छन्। उनले आवश्यक भौतिक संरचना पुनर्निर्माण र अस्थायी विकल्प खोज्ने विषयमा पनि मुख्यमन्त्रीसँग परामर्श गरेका थिए।

यसैबीच, सिंहमाथि आफ्नै पार्टीले विश्वासको मत फिर्ता लिएको निर्णय गरेपछि संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ। तर भौतिक संरचना क्षतिग्रस्त भएकाले प्रदेशसभा बैठक कहाँ र कसरी गर्ने भन्ने प्रश्न तत्काल समाधान गर्नुपर्ने अवस्थाले दुवै पक्षलाई चिन्तित बनाएको देखिन्छ।

सभामुखको सचिवालयका अनुसार निकट भविष्यमै आवश्यक संरचना निर्माण तथा बैठक सञ्चालनका वैकल्पिक उपायबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...