संविधान दिवसको अवसरमा नगरप्रमुख क्षेत्रीको शुभकामना सन्देश

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

संविधान दिवसको अवसरमा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सम्पूर्ण नगरवासी, मधेशवासी र विश्वभर रहेका नेपालीहरूलाई शुभकामना दिएका छन्।

उनले संविधान दिवसलाई नेपालको सात दशकभन्दा लामो राजनीतिक संघर्ष, बलिदान र असंख्य देशभक्तहरूको सपना र त्यागको फलस्वरूप प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन्। सन्देशमा उनले भनेका छन्, “२०७२ सालमा जारी संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्दै सार्वभौमसत्ता जनतामा निहित भएको स्पष्ट गरेको छ। संविधान हाम्रो गौरवको प्रतीक मात्र नभई अधिकार, समानता र समावेशी लोकतन्त्रको जीवन्त दस्तावेज हो।”

नगरप्रमुख क्षेत्रीले संविधान दिवसलाई स्थायी शान्ति, राजनीतिक स्थिरता र समृद्ध नेपाल निर्माण गर्ने आधारका रूपमा स्मरण गर्नुपर्ने बताएका छन्। उनले संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण, आधारभूत सेवा, सुशासन र विकासका क्षेत्रमा बर्दिवास नगरपालिकाले जनताको अपेक्षा पूरा गर्न निरन्तर प्रयास गरिरहेको जानकारी दिए।

उनले यस विशेष अवसरमा नगरवासीलाई एकताको भावना, सामाजिक सद्भाव, आपसी सहयोग र सहअस्तित्वलाई अझ सुदृढ गर्दै समृद्ध बर्दिवास सुखी नगरवासी र समृद्ध नेपाल सुखी नेपाली बनाउनलाई हातेमालो गर्न समेत आह्वान गरेका छन्।

सन्देशको अन्त्यमा नगरप्रमुख क्षेत्रीले “जय नेपाल, जय संविधान” भन्दै संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...