मुख्यमन्त्री सिंह : “राजीनामा होइन, विश्वासको मतसहित सभामै सामना गर्छु”

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पार्टीले दबाब दिएर राजीनामा गराउने प्रयास अस्वीकार गर्दै प्रदेशसभामै विश्वासको मत लिने घोषणा गरेका छन्।

जनमत पार्टीले तीन दिनभित्र पद त्याग नगरेमा साधारण सदस्यतासमेत खारेज गर्ने चेतावनी दिएपछि मुख्यमन्त्री सिंहले आफू भाग्ने मनसाय नराखेको स्पष्ट पारेका हुन्। बिहीबार साँझ नेपालप्रेससँगको कुराकानीमा उनले भने, “पार्टीलाई आवश्यक परेको खण्डमा चित्तबुझ्दो स्पष्टिकरण दिन तयार छु। तर, म मुख्यमन्त्रीको जिम्मेवारीबाट पछि हट्दिनँ। प्रदेश सभामै विश्वासको मत सामना गर्न म तयार छु।”

उनका अनुसार संघीयता जोगाउन र मधेशको भूमिका अझ प्रभावकारी बनाउन अहिले राजनीतिक सहकार्य र एकताको आवश्यकता छ। “फेरि खिचातानी र अस्थिरता सिर्जना गर्ने समय होइन,” सिंहले जोड दिए।

यसअघि, जनमत पार्टीका दुई मन्त्री—उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा र वन तथा वातावरण मन्त्री सञ्जय यादवले भदौ २४ गते राजीनामा दिएका थिए। तर सिंहले उनीहरूलाई “डराएर भागेका” भन्दै आलोचना गरेका छन्।

भदौ ३० गते जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले औपचारिक रूपमा प्रदेश सरकारबाट फिर्ता भएको घोषणा गरेका थिए। त्यसयता पार्टी भित्रै विवाद चर्किएको छ।

बुधबार मात्रै उपाध्यक्ष अब्दुल खानसहित ६ नेताले अध्यक्ष सिके राउतलाई पदबाट हट्न दबाब दिएका थिए। तर, राउतले सामाजिक सञ्जालमार्फत ‘पार्टी छोड्ने उपयुक्त मौका’ भन्दै उनीहरूलाई चेतावनी दिएका थिए।

यता, बिहीबार उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरीले फेसबुकमार्फत राजीनामा सार्वजनिक गर्दै मुख्यमन्त्री सिंहले पार्टीको निर्णयविपरीत सरकार नछाडेकोमा आपत्ति जनाए। उनले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए साधारण सदस्यतासमेत समाप्त हुने चेतावनी दिएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...