‘मेयरसँग बालबालिकाको अन्तरक्रिया’ ः पर्वलाई शिक्षा, संवाद र नेतृत्वसँग जोड्ने अभिनव प्रयास

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास–१०, स्थित श्री लक्ष्मीनारायण जनता माध्यमिक विद्यालयले यसपटक दशैं, तिहार र छठ पर्वको अवसरमा साँच्चिकै फरक किसिमको गतिविधिले चर्चा बटुल्न सफल भएको छ। विद्यालयले आयोजना गरेको “शुभकामना आदान–प्रदान कार्यक्रम तथा मेयरसँग बालबालिकाको अन्तरक्रिया” ले विद्यार्थी, विद्यालय, अभिभावक र स्थानीय सरकारबीच आत्मीय सम्बन्ध गाँस्ने एउटा सशक्त सेतुको काम ग¥यो।

पर्वको आत्मा, शिक्षाको सन्देश

दशैं, तिहार र छठ नेपाली समाजमा मात्र धार्मिक पर्व होइनन्, यी परिवार, समाज र समुदायलाई एकता र सौहार्दमा बाँध्ने अमूल्य अवसर पनि हुन्। यिनै पर्वलाई आधार बनाएर विद्यालयले शुभकामना मात्र आदान–प्रदान गरेन, शिक्षाको भविष्यमाथि समेत संवाद गर्ने वातावरण सिर्जना ग¥यो। यसरी विद्यालयले संस्कृतिलाई ज्ञानसँग जोड्ने अभ्यास गर्दै बालबालिकाको नेतृत्व चेतनामा नयाँ आयाम थपेको छ।

उपमेयरसँग प्रत्यक्ष संवाद

कार्यक्रमको विशेष आकर्षण बर्दिवास नगरपालिकाकी उपमेयर तारादेवी महतोसँग बालबालिकाको प्रत्यक्ष अन्तरक्रिया रह्यो। बालबालिकाले नगरका योजनाबारे जिज्ञासा राख्दै विद्यालय र खेलमैदानतथा शौचालयको अवस्था सुधार गर्न आग्रह गरे। कोही विद्यार्थीले कक्षा कोठामा प्रविधिक पूर्वाधारको माग राखे भने कोहीले अतिरिक्त क्रियाकलापका अवसर विस्तारको सुझाव दिए।
उपमेयर महतोले बालबालिकाको आवाजलाई भविष्यको नीति निर्माणमा मार्गदर्शकका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “विद्यालय स्तरमै नेतृत्व, आलोचनात्मक सोच र अभिव्यक्तिको अवसर दिनु आवश्यक छ। त्यही अभ्यासले भोलिको समाजलाई सक्षम नेतृत्व दिनेछ।”

प्रशासनको दृष्टिकोण

कार्यक्रमका विशिष्ट अतिथि, बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई समानरूपमा अघि बढाउने योजना रहेको बताए। उनले विद्यार्थीलाई प्रविधिमैत्री बनाउन शिक्षक, अभिभावक र विद्यार्थी सबैले मिलेर लाग्नुपर्नेमा जोड दिए।
अधिकारीले समाजले सानातिना कुरामा पनि नगरपालिकालाई मात्रै ताक्ने संस्कार त्यागेर विद्यालय विकासमा अग्रज, शिक्षक र अभिभावक आफैं अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए। उनले आश्वासन दिए, “यदि शुरुवात विद्यालय र समुदायबाट हुन्छ भने नगरपालिका सधैं साथ र सहयोगका लागि तयार छ।”

विद्यालय–समुदाय–सरकार ः तिनैको साझा मञ्च

विद्यालयको यो कार्यक्रमले समुदाय, विद्यालय र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। साधारणतया विद्यालयका कार्यक्रम परीक्षा, खेलकुद वा सांस्कृतिक गतिविधिमा सीमित हुने परिपाटी रहँदै आएको छ। तर यसपटक पर्वलाई आधार मानेर विद्यार्थीलाई स्थानीय नेतृत्वसँग प्रत्यक्ष संवाद गराउने अभ्यासले शिक्षण संस्थालाई केवल ज्ञान दिने थलो नभई लोकतान्त्रिक संवाद र समावेशी विकासको केन्द्रका रूपमा स्थापित गरिदिएको छ।

भविष्यतर्फको दृष्टि

यस्तो अभ्यासले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै सामाजिक जिम्मेवारीबोध, आलोचनात्मक सोच र सहभागी लोकतन्त्रप्रति आस्था जगाउने अपेक्षा गरिएको छ। पर्वले ल्याउने खुशी र मेलमिलापको सन्देशलाई विद्यालयले बालमैत्री समाज निर्माणसँग जोड्नु, स्थानीय संस्कृतिलाई शिक्षासँग गाँस्नु र बालबालिकाको आवाजलाई सरकारको कानमा पु¥याउनु नै यस कार्यक्रमको सफलता हो।
बर्दिवास–१० स्थित श्री लक्ष्मीनारायण जनता माविको यो प्रयासले देखाएको छ—विद्यालय केवल पढाइको थलो मात्र होइन, भविष्य निर्माण र सामाजिक चेतना जगाउने साझा जग पनि हो। दशैं, तिहार र छठ पर्वको उमङ्गलाई संवाद, शिक्षा र नेतृत्वसँग जोड्ने यो अभ्यास साँच्चिकै प्रेरणादायी छ, जसले अन्य विद्यालय र समुदायलाई पनि नयाँ सोचतर्फ डोर्याउने निश्चित देखिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...