जनकपुरमा प्रदेशसभा भवनमा व्यापक तोडफोड, रु ४० करोड बराबरको क्षति

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मधेश प्रदेशसभा र सचिवालयमा जेनजी समूहको आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीका कारण करिब रु ४० करोड बराबरको भौतिक क्षति भएको छ।

सभामुख रामचन्द्र मण्डलका अनुसार सातै दलका संसदीय दलका कार्यालयदेखि लिएर सभामुख र दलका सभापतिहरूका कार्यकक्षसम्म कुनै पनि सुरक्षित छैनन्। सचिवालयका अधिकांश शाखामा भएको तोडफोड र आगजनीका कारण कार्य सम्पूर्णरूपमा प्रभावित भएको उनले बताए।

आन्दोलनकारीहरूले कार्यालय क्षेत्र मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेका छन्। सचिवालयको हायस गाडीमा आगजनी गरी ध्वस्त पारिएको छ भने सभामुख मण्डलको निजी गाडीको सिसा फुटाइएको छ। साथै, कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पङ्खा, इन्टरनेट सामग्री लगायतका उपकरण लुटपाट हुनुका साथै जलाएर नष्ट गरिएको छ।

सभामुख मण्डलले आन्दोलनकारीहरूले आफ्नै निवासमा समेत तोडफोड गरी तीन तोला सुनका गहना समेत लुटेको बताएका छन्। “यो घटना अत्यन्तै गम्भीर र दुःखद् छ,” उनले भने।

यता सचिवालयले जारी गरेको विज्ञप्तिमा प्रदेशसभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर, टेलिभिजनसहितका सम्पूर्ण विद्युतीय उपकरण लुटपाटमा परेको उल्लेख गरिएको छ। साथै, सचिव वासुप्रसाद कोइरालाद्वारा हस्ताक्षरित सूचनामार्फत आन्दोलनको क्रममा लगिएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, क्यामेरा, माइक, स्पिकर, फोटोकपी मेसिन, एसीलगायत सम्पूर्ण भौतिक सामग्री फिर्ता गर्न आग्रह गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...