आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारलाई सघाउँदै आएको जनमत पार्टीले शनिबारदेखि आफ्नो समर्थन फिर्ता लिएको छ। पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहसहित सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “जनमत पार्टीले मधेश प्रदेश सरकारमा अब कुनै जिम्मेवारी निर्वाह नगर्ने निर्णय गरेको छ। यसबारे पत्र प्रदेश प्रमुखको कार्यालयमा समेत पठाइएको छ।”
यसअघि गएको सोमबार जनमत निकट जेनजी समूहको आन्दोलनका क्रममा तनाव उत्पन्न भएपछि मंगलबार मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर, उनले अहिलेसम्म प्रदेश प्रमुखलाई औपचारिक लिखित राजीनामा बुझाएका छैनन्।
हाल मधेश प्रदेशमा एमाले, कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनमत पार्टी नेतृत्वको सरकारमा सत्तासाझेदार रहेका थिए। यता, जनता समाजवादी पार्टी (जसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेसंस र नाउपा विपक्षी भूमिकामा छन्।
राजनीतिक समीकरण फेरिएसँगै प्रदेश सरकारको आगामी स्वरूपबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।
