दीप प्रज्वलनमा बर्दिवासः शहीद सपुतहरूलाई श्रद्धाञ्जली

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

यहि भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका नेपाल आमाका सपुतहरूको सम्झनामा बर्दिवासमा श्रद्धाञ्जली कार्यक्रम गरीएको छ। बर्दिवास नागरिक समाजको पहलमा शनिबार बेलुकी बर्दिवास–१ स्थित सिन्धुली रोडको तिनकुने मुख्य चोकमा आयोजित कार्यक्रममा स्थानीयवासी, नागरिक समाजका अगुवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी भए।

दीप प्रज्वलनमार्फत  श्रद्धाञ्जली

शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले दीप प्रज्वलन गरे। कार्यक्रमका प्रमुख अतिथि बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले देश र जनताको पक्षमा बलिदान दिनेहरूको सम्झनामा आयोजित कार्यक्रमले नयाँ पुस्तालाई बलिदानी आत्माको प्रेरणा दिने विश्वास व्यक्त गरे।
उनले भने, “यो भूमि वीरहरूको रगतले रङ्गिएको छ। हामीले उनीहरूको बलिदानलाई बिर्सनु हुँदैन। संघर्षका क्रममा दिवंगत भएका सपुतहरूको सम्झना गर्दै उनिहरुको सपना साकारपार्न लोकतन्त्र र जनअधिकारको रक्षा गर्ने हाम्रो दायित्व अझ बढेको छ।”क्षेत्रीले आन्दोलनको क्रममा घाईते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामनागर्दै आन्दोलनमा घुसपैठ गरेर केहि अराजक तत्वहरुले बर्दिवासको शान्ति — सु ब्यवस्थालाई खलबल गराउने तथा सार्बजनिक सम्पती र ब्यवसायीक संस्थामा आगजनीगर्ने तोडफोडगर्ने मानिसहरुको अभिलम्ब खोजीगरी कारवाहीको दायरामा ल्याउन संघिय सरकारसंग माग गरे।

घाइतेहरूको स्वास्थ्यलाभको कामना

श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले समेत आन्दोलनका क्रममा घाइते भई हाल उपचाररत व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका थिए।
यसै क्रममा बर्दिवास–३ कालापानी निवासी, नेपाल सरकारका निवृत्त उपसचिव तथा नागरिक समाजका अगुवा रामकुमार कार्कीले भने, “यो दीप प्रज्वलन केवल दिवंगत आत्माको सम्झना मात्र होइन, पीडामा परेकाहरूप्रति ऐक्यबद्धताको संकेत पनि हो। हामी घाइतेहरूको चाँडो स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौं।”

नागरिक समाजको सक्रियता

बर्दिवास नागरिक समाजले लामो समयदेखि सामाजिक मुद्दा, अधिकार र जनचेतनाका पक्षमा आवाज उठाउँदै आएको छ। यसपटकको श्रद्धाञ्जली कार्यक्रमले फेरि एकपटक नागरिक समाजको संवेदनशील भूमिका उजागर गराएको छ। कार्यक्रममा स्थानीय राजनीतिक दलका कार्यकर्तादेखि व्यवसायी, विद्यार्थी र सर्वसाधारणसम्मको उपस्थिति देखिन्थ्यो।

भावनात्मक क्षणहरू

दीप प्रज्वलनको क्रममा धेरैसहभागीहरूले शहीदहरूको योगदान र त्यागलाई स्मरण गर्दै मौन धारण समेत गरे। कार्यक्रमले बर्दिवासवासीबीच ऐक्यबद्धताको वातावरण सिर्जना गरेको देखिन्थ्यो।

जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा गरिएको यस श्रद्धाञ्जली कार्यक्रमले बर्दिवासको समाजमा सहअस्तित्व, न्याय र परिवर्तनका लागि निरन्तर लागिरहने प्रेरणा जगाउने सन्देश दिएको छ। बलिदानी आत्माहरूको सम्झना मात्र होइन, बचेका घाइतेहरूको स्वास्थ्यप्रति चिन्ता र भविष्यमा शान्तिपूर्ण समाधान खोज्ने आकांक्षा पनि यसैमा अभिव्यक्त भएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...