आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास क्षेत्रमा आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आदेशअनुसार सार्वजनिक सुरक्षा, शान्ति र कानून–व्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु जारी गरिएको हो। आदेशअनुसार यस अवधिभर जनसाधारणलाई सडकमा आवतजावत, भिडभाड गर्न, सभा–जुलुस गर्न, हतियार वा अन्य घातक वस्तु बोक्न कडाइका साथ निषेध गरिएको छ।
कर्फ्यु आदेश तोडफोड गर्ने व्यक्तिलाई कानूनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आवश्यक परेमा सुरक्षा निकायले बल प्रयोग गर्ने चेतावनीसमेत दिइएको छ।
बर्दिवासका संवेदनशील क्षेत्रमा पछिल्ला दिनमा बढ्दै गएको तनावलाई नियन्त्रणमा लिन र सम्भावित अप्रिय घटना रोकथाम गर्ने उद्देश्यले कर्फ्यु आदेश लागू गरिएको प्रशासनले स्पष्ट पारेको छ।
यस अवधिभर अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कर्फ्यु आदेशबाट छूट दिइने भएको छ।





































