काठमाडौँको नख्खु कारागारमा विगत १२ वर्षदेखि सजाय भोगिरहेका पूर्वराज्यमन्त्री सञ्जय शाह (टकला) लाई काभ्रेको मंगलटारमा प्रहरीले पक्राउ गरेको छ। बिहीबार काभ्रे जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर कारागार पठाउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिँदै भने, “नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं।”
पूर्वराज्यमन्त्री टकला, जो मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद थिए, जनकपुर बम काण्डमा दोषी ठहरिएका थिए। उनले १२ वर्ष जेल सजाय भोगिरहेका थिए।
टकलामाथि जनकपुरका मिडिया उद्यमी अरूण सिंहानियाको हत्या आरोप पनि लागेको थियो। उनी बुधबार कारागारमा प्रदर्शनकारीहरूले तोडफोड गर्दा जेलबाट भागेका थिए।
