आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले नगरको मुख्य शहरी बजार क्षेत्रमा शुक्रबार सरसफाइ अभियान सञ्चालन गरेको छ। नगरको अग्रसरतामा गरिएको उक्त सरसफाई कार्यक्रममा विभिन्न निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको नेतृत्व बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरेका थिए। सरसफाइ अभियानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल क्षीरेश्वर बाहिनी बर्दिवास, स्थानीय संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक अभियन्ताहरुको उपस्थिति उल्लेख्य रहेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख क्षेत्रीले सरसफाइलाई स्वस्थ्य र सभ्य समाजको आधार भएको बताउँदै नियमित रूपमा सरसफाइ अभियानलाई निरन्तरता दिन नगरवासीलाई आग्रह गरे। उनले सबै नागरिकले आफ्नो क्षेत्र सफा राख्ने जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
नगरपालिकाले समय–समयमा विभिन्न टोल तथा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गर्दै आएको छ। यसले नगरलाई स्वच्छ, सुरक्षित र सुन्दर बनाउन सहयोग पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।





































