आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका–१३ मा सोमबार सम्पन्न नेपाल तरुण दलको पाँचौँ वडा अधिवेशनले स्थानीय राजनीतिको माहोलमा नयाँ ऊर्जा थपिदिएको छ। नेपाली कांग्रेससँग आबद्ध यो युवा संगठनको अधिवेशन केवल नेतृत्व चयनमा सीमित नभई युवाशक्ति सबलीकरण, संगठनात्मक चेतना र भविष्यप्रतिको आशालाई बलियो बनाउनमा केन्द्रित भएको देखिन्छ।
युवाशक्ति सबल नभएसम्म संगठन सबल हुँदैन
अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. १ का महासमिति सदस्य तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले युवाशक्तिको सबलीकरणलाई संगठन सुदृढीकरणको मुख्य आधारको रूपमा प्रस्तुत गरे।
उनले प्रष्ट पारे, “युवाशक्ति सबल नभएसम्म संगठन बलियो हुन सक्दैन। युवा नेतृत्वको भूमिकाले मात्र पार्टीलाई भविष्यतर्फ सक्षम बनाउँछ।”
नयाँ कार्यसमिति चयन
अधिवेशनले किसन महतोको सभापतित्वमा ११ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्षमा महनश्री राउत, सचिवमा लक्ष्मेश्वर महतो, सहसचिवमा दिनेश महतो, कोषाध्यक्षमा चन्द्रकला देवी रहेका छन्। सदस्यतर्फ दिनेश राउत, शिवकुमार राउत, सुर्जिदेवी चौधरीलगायतको जिम्मेवारी तय भएको छ।
यस्तै, अधिवेशनले ९ सदस्यीय नगर अधिवेशन प्रतिनिधि र ३ सदस्यीय जिल्ला अधिवेशन प्रतिनिधि समेत चयन गरेको छ। नगर अधिवेशन प्रतिनिधिमा जयन्त राउत, सुर्जिदेवी चौधरी, फुलमती महतो, राम दिनेश राउत लगायत छन् भने जिल्ला अधिवेशन प्रतिनिधिमा निर्मला देवी महतो, लक्ष्मण सिंह र मनोज राउत रहेका छन्।
सहभागिता र उत्साह
अधिवेशनमा बर्दिबास नगरपालिकाकी उप–प्रमुख तथा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. १ की महासमिति सदस्य तारादेवी महतो,कांग्रेस महोत्तरी क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि अशोक कोईराला नेपाली कांग्रेस बर्दिबास नगर सभापति युबराज पोखरेल, नेपाल तरुणदल केन्द्रिय सदस्य मिन कोईराला लगायत स्थानीय नेताहरुको सहभागिता उल्लेखनीय थियो।
नेपाली कांग्रेसका नेताहरूको सक्रिय उपस्थिति र युवाहरुको उत्साहले अधिवेशनलाई एकतर्फ संगठनात्मक उत्सव बनायो भने अर्कोतर्फ भविष्यप्रतिको आशा पनि जगाइदियो।
संगठन सुदृढीकरणतर्फ युवा कदम
नेपाली कांग्रेस बर्दिबास नगर सभापति युबराज पोखरेलका अनुसार यस अधिवेशनले संगठनलाई नयाँ ढंगले अघि बढाउने कार्यको आधार तय गरेको छ। उनका अनुसार, “वडा तहबाट सुरु भएको यो अभियान नगर, जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म सुदृढीकरणको यात्रा बन्नेछ।”
बर्दिबास–१३ को यो अधिवेशनले युवा चेतना, सहभागिता र नेतृत्व विकासलाई मात्र उजागर गरेको छैन, यसले स्थानीय राजनीतिको माहोलमा सकारात्मक सन्देश पनि प्रवाह गरेको छ। युवा पुस्ताको सक्रियता र प्रतिबद्धताले नेपाली कांग्रेससँग आबद्ध तरुण दललाई भविष्यतर्फ अझ सबल र गतिशील बनाउने विश्वास गरिएको छ भन्छन नेपाल तरुण दल बर्दिबास नगर सभापति विनोद ढुंगेल ।
