डिजिटल प्रविधिसँगै गुणस्तरीय शिक्षणतर्फ श्री पशुपतिनाथ मावि बनरझुल्ला

[sharethis-inline-buttons]
  1. आज्ञा खबर
    बर्दिवास
    “अब पढाइ अरूभन्दा फरक हुनेछ। हाम्रो कक्षाकोठा मात्र पर्खाल र ब्ल्याकबोर्डसम्म सीमित रहने छैन, हामी विश्वमै प्रयोग भइरहेका प्रविधिसँग जोडिनेछौं,” बर्दिवास–९ पशुपतीनगरस्थित श्री पशुपतिनाथ माध्यमिक विद्यालय बनरझुल्लाका प्रधानाध्यापक बिरेन्द्र कुमार सिंहले आइतबारको उद्घाटन कार्यक्रममा भने।

विद्यालयमा पहिलोपटक डिजिटल बोर्ड जडान भएपछि विद्यार्थी, शिक्षकदेखि अभिभावकसम्ममा उत्साह छाएको छ।

नगरप्रमुख कक्षामा

उद्घाटनका लागि विद्यालय पुगेका बर्दिवास नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री केवल औपचारिक कार्यक्रममै सीमित भएनन्। उनी प्रत्यक्ष कक्षाकोठामा प्रवेश गरी कक्षा १० र ११ का विद्यार्थीहरूसँग संवादमा उत्रिए।

विद्यार्थीहरूको सिकाइ–अवस्था, शिक्षक–विद्यार्थी सम्बन्ध, कक्षाकोठाको वातावरणबारे बुझ्दै उनले स्पष्ट भने–
“गुणस्तरीय शिक्षा तपाईँहरूको अधिकार हो। यदि शिक्षण–सिकाइमा कमजोरी देखिए, अभिभावक वा विद्यालय व्यवस्थापन समितिसम्म मात्र सीमित नराख्नुस्, सिधै मलाई फोन गरेर जानकारी दिन सक्नुहुन्छ।”

उनले आफ्नो निजी मोबाइल नम्बर (९८४४०३५२४८) समेत विद्यार्थीलाई सार्वजनिक गरे, जसले स्थानीय सरकार र विद्यार्थीबीच प्रत्यक्ष सम्बन्धलाई प्रष्ट्यायो।

प्रविधिमैत्री शिक्षणको आशा

विद्यालयका प्रधानाध्यापक सिंहका अनुसार, डिजिटल बोर्ड जडानसँगै गणित, विज्ञानजस्ता विषय अब दृश्यात्मक र अन्तरक्रियात्मक शैलीमा पढाइनेछ।
“सामान्य ब्ल्याकबोर्डमा मात्र आधारित शिक्षणले सबै विद्यार्थीलाई समेट्न सक्दैन। प्रविधिको प्रयोगले जिज्ञासा बढाउँछ, सिकाइ सजिलो र रोचक बन्छ,” उनले भने।

कक्षामा उपस्थित विद्यार्थीले पनि नयाँ शैलीप्रति उत्साह प्रकट गरे। कक्षा ११ की एक छात्रा भन्छिन्–
“पहिले पढाइ सुनाइमै सीमित हुन्थ्यो। अब भिडियो, चित्र, चार्ट हेरेर बुझ्न पाइने भएकाले पढाइ सजिलो हुनेछ।”

शिक्षा सुधारको चासोमा स्थानीय सरकार

नगरप्रमुख क्षेत्रीले उद्घाटन भाषण नगरी शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने नीति बिद्यार्थी तथा शिक्षकसंग दोहोर्याए।
“नगरपालिकाले स्वास्थ्य र पूर्वाधारसँगै शिक्षामा विशेष जोड दिएको छ। डिजिटल प्रविधि र प्राविधिक शिक्षणमार्फत हाम्रो नयाँ पुस्ता प्रतिस्पर्धी बन्नेछ,” उनले भने।

कार्यक्रममा उप–प्रमुख तारादेवी महतो, नेपाली कांग्रेसका नगरसभापति युबराज पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार महतो लगायतको उपस्थिति थियो।

शिक्षामा प्रविधिको चुनौती र सम्भावना

यद्यपि, डिजिटल बोर्ड मात्र जडानले शिक्षा सुधार हुने होइन। यसका लागि तालिम प्राप्त शिक्षक, पर्याप्त बिजुली आपूर्ति, इन्टरनेट जस्ता पूर्वाधार आवश्यक हुन्छन्। विद्यालय प्रशासनले पनि यी चुनौतीलाई स्वीकार गर्दै चरणबद्ध सुधार गर्ने तयारी गरेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अनिल कुमार महतोले जानकारी दिए ।

शिक्षा विज्ञहरूको मतमा ग्रामीण क्षेत्रका विद्यालयमा प्रविधि भित्रनु आफैंमा महत्वपूर्ण कदम हो। यसले विद्यार्थीलाई ‘सहरमा मात्रै गुणस्तरीय शिक्षा पाइन्छ’ भन्ने धारणा तोड्न मद्दत गर्नेछ।

श्री पशुपतिनाथ माविको कक्षामा अब केवल चाक र डस्टरको धुलो मात्र उड्ने छैन, डिजिटल स्क्रिनमा चित्र, भिडियो र जानकारी चम्किनेछ। विद्यार्थीलाई आफ्नो सिकाइ स्तरलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने एउटा ढोका खुलेको छ।

यसैसँगै बर्दिवास नगरको शिक्षा सुधार यात्राले नयाँ अध्याय कायम राख्न मद्दत गरेको छ। तर पनि प्रश्न भने यहीँ छ – डिजिटल बोर्डलाई नियमित र प्रभावकारी प्रयोग गर्न सक्ने वातावरण विद्यालयले कायम राख्न सक्ला कि सक्दैन?

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...