आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले करिब ६५ लाख रुपैयाँ खर्च गरेर खरिद गरेका ६ वटा कम्प्युटर सफ्टवेयर अहिलेसम्म कार्यालयमा भेटिएका छैनन्।
२०७७र०७८ आर्थिक वर्षमा खरिद गरिएका ती सफ्टवेयर जिन्सी शाखामा दाखिला नगरी बेपत्ता भएको तथ्य बाहिर आएको हो। तर, आपूर्तिकर्ता कम्पनीलाई भने सोही वर्षमै सम्पूर्ण भुक्तानी गरिएको कार्यालय स्रोतले जनाएको छ।
कार्यालयले खरिद गरेका सफ्टवेयरमा इनभेन्ट्री म्यानेजमेन्ट इनफरमेसन सिस्टम ९क्ष्ःक्ष्क्०, अफिस अटोमेसन सिस्टम ९इब्क्०, पर्सनल इनफरमेसन सिस्टम ९एएक्ष्क्०, कन्ट्रयाक्ट म्यानेजमेन्ट इनफरमेसन सिस्टम ९ऋःक्ष्क्०, प्रोजेक्ट परफरमेन्स सिस्टम ९एएक्ष्क्० र डाटा इन्ट्री एन्ड रिपोर्टिङ एप्लिकेसन सिस्टम रहेका छन्।
यी सफ्टवेयरमध्ये अफिस अटोमेसन र प्रोजेक्ट परफरमेन्स सिस्टम दुवै ड्राई आइस सोलुसन प्रा।लि। बाट करिब १८–१८ लाख रुपैयाँमा खरिद गरिएको थियो। पर्सनल इनफरमेसन सिस्टम हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजीमार्फत १२ लाख ७५ हजार रुपैयाँमा ल्याइएको थियो।
त्यस्तै, कन्ट्रयाक्ट म्यानेजमेन्ट सिस्टम एस्टर इनोभेसन प्रा।लि। बाट ४ लाख ९५ हजार रुपैयाँमा, डाटा इन्ट्री एन्ड रिपोर्टिङ सिस्टम हुमला टेक्नोलोजीमार्फत ४ लाख ६५ हजार रुपैयाँमा र इनभेन्ट्री म्यानेजमेन्ट सिस्टम पिस नेपालबाट ४ लाख ९५ हजार रुपैयाँमा खरिद गरिएको विवरणमा उल्लेख छ।
तर, यी सबै सफ्टवेयर जिन्सी शाखामा दाखिला नभएको कार्यालयका जिन्सी शाखा प्रमुख रामअशिष रायले पुष्टि गरेका छन्।
“अख्तियारको पत्र आउँदा खोज्दा पनि कुनै रेकर्ड भेटिएन। ती सफ्टवेयर अहिले कहाँ छन् भन्ने जानकारी छैन,” उनले भने।
कार्यालय स्रोतका अनुसार आर्थिक वर्षको अन्त्यतिर कुनै स्पष्ट योजना, आवश्यकता वा प्रक्रिया विना तत्कालीन कार्यालय सचिव यमप्रसाद भुषालको निर्णयमा सफ्टवेयर खरिद भएको थियो। भुषाल यसअघि ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमिततामा मुछिएका व्यक्तिका रूपमा चर्चित छन्।
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान अघि बढाइरहेको छ।





































