आज्ञा खबर
वीरगञ्ज
वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका स्थानीयलाई हैजा तथा झाडापखालाबाट सुरक्षित राख्न शुक्रबार विशेष जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
लायन्स क्लब अफ वीरगञ्ज, विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त पहलमा आयोजित कार्यक्रममा सहभागीलाई सरसफाइ र खानपानका सही अभ्यासबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा उमालिएको वा क्लोरिनयुक्त पानी मात्र पिउनु, खुला ठाउँमा राखिएका खाद्यपदार्थ नखानु, साबुनपानीले नियमित हात धुनु, खाना पकाउँदा र खाने बेलामा स्वच्छता कायम गर्नु, झाडापखाला देखिएमा तुरुन्तै ओ.आर.एस. प्रयोग गर्नु र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुजस्ता उपायहरूलाई प्रभावकारी मानिने जानकारी दिइयो।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले व्यक्तिगत सरसफाइलाई जीवनशैलीमै प्राथमिकता दिन सके हैजा तथा झाडापखालाजस्ता रोग सजिलै नियन्त्रण गर्न सकिने बताइन्। उनले वीरगञ्ज महानगरका सबै वडामा यो अभियान विस्तार गर्ने योजनाबारे पनि जानकारी दिइन्।
सचेतनामूलक अभियानमा पर्चा वितरण गरिनुका साथै समुदायलाई दैनिक जीवनमै स्वस्थ व्यवहार अपनाउन आह्वान गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष अजय कुमार बरै, डिपुटी चिफ लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्य, साथै स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।





































