आज्ञा खबर
बर्दिवास
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानलाई राहत दिने विषयलाई सरकारले अब ढिलाइ गर्न नहुने स्पष्ट बताएका छन्। उनले सरकारले चालु आर्थिक वर्षमै अनुदानका लागि आवश्यक बजेट छुट्याइसकेको भन्दै तत्काल रकम वितरण गर्न जोड दिए।
धनुषाको लालगढमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त भेटमा महामन्त्री थापाले भने, “सरकार आफैंले अनुदान तोक्छ तर तोकिएको रकम वितरणमा ढिलाइ गर्दा किसान समस्यामा पर्छन्। यो विषयमा कृषि मन्त्रीसँग छलफल भइसकेको छ, अब ढिलो नगरी समाधान आउँछ भन्ने विश्वास छ।”

उनका अनुसार उखु कृषकलाई अनुदान उपलब्ध गराउने कार्यविधि–२०७५ अन्तर्गत यसै आर्थिक वर्षका लागि दुई अर्ब रुपैयाँ विनियोजन भइसकेको छ। साथै थप २०–२५ करोड रुपैयाँ मिलाउन सकिने भएकाले तत्कालै किसानलाई भुक्तानी दिन कुनै कठिनाइ नहुने उनको भनाइ थियो।
महामन्त्री थापाले तत्कालीन माग सम्बोधनसँगै किसानसम्बन्धी दीर्घकालीन नीतिगत समाधानमा पनि सरकार अघि बढ्नुपर्नेमा जोड दिए। “उखु किसानको समस्या तत्काल अन्त्य गरिनुपर्छ। त्यसपछि उत्पादन वृद्धि र किसानलाई टिकाउ बनाउने नीति बनाउन जरुरी छ,” उनले भने।

यसै अवसरमा कांग्रेस सर्लाहीले प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको स्मृतिमा लालबन्दी–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आयोजना गरेको श्रद्धाञ्जली सभामा समेत महामन्त्री थापाले सहभागिता जनाए।
कोइरालाको राजनीतिक र सामाजिक योगदानलाई स्मरण गर्दै उनले भने, “उहाँले कुनै पदको लाभ नलिई समाजमा ठूलो योगदान दिनुभयो। त्यसलाई व्यवस्थित ढंगले पुस्तापुस्ता माझ पु¥याउन कांग्रेस केन्द्रीय कार्य समितिकै तर्फबाट स्मारिका प्रकाशन गर्नेछौं।”
उनले कोइरालाकै नेतृत्वमा जुटपानीमा आश्रम, विद्यालय, स्वास्थ्य चौकीलगायत संस्था स्थापना भएको उल्लेख गर्दै, ती संस्थामार्फत कोइरालाको योगदान अमर रहने विश्वास व्यक्त गरे।
श्रद्धाञ्जली सभामा कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले आफू समाजसेवा र राजनीतिमा कोइरालाबाट प्रेरित भएको बताए। कार्यक्रममा मधेश प्रदेश कांग्रेसका उपसभापति वीरेन्द्रप्रसाद सिंह, कार्यवाहक जिल्ला सभापति डा. सरोजकुमार यादव, पूर्व जिल्ला सभापति नागेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य जङ्गीलाल राय, बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्य सहित अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको थियो।
