आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लाको सुदुर उत्तरतर्फको प्रवेशद्वार मानिने बर्दिवास नगरपालिका आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले तीव्र गतिमा विकसित हुँदै आएको शहर हो। पूर्व–पश्चिम राजमार्ग र मधेस–पहाड जोड्ने लोकमार्गको संगमस्थल समेत बर्दिवास भएकाले यहाँको भौगोलिक र रणनीतिक महत्व झन् बढी छ। तर, शहरको बिकाससँगै यहाँ आपराधिक गतिविधिहरूमा पनि विविधता देखिन थालेका छन्। चोरी–डकैती, ठगी, सवारी दुर्घटना, लागुऔषध दुरुवेशनी कारोवार, घरेलु हिंसा, महिला–बालबालिका सम्बन्धी हिंसा,देह ब्यपार लगायतका घटना समय–समयमा बर्दिवासमा सतहमै आउँछन्। यी चुनौतीबीच बर्दिवास नगरलाई सुरक्षित र शान्त बनाउन प्रहरीको भूमिका निर्णायक मानिन्छ।
यि सबै बिषयलाई मध्य नजरगर्दै बर्दिवासस्थित इलाका प्रहरी कार्यालयले पछिल्ला केहिबर्षयता अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न रणनीतिहरू अपनाएको छ। नियमित गस्ती, विशेष संदेहजनक स्थलमा निगरानी, आकस्मिक चेकिङ, हुलाकी राजमार्ग तथा प्रमुख बजार क्षेत्रमा सिसीटिभीको प्रयोग, विद्यालय र समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे यहाँका प्रहरी सक्रिय देखिन्छ।
विशेष गरी लागुऔषध नियन्त्रणमा बर्दिवास प्रहरीले कठोर कदम चालेको छ। सीमावर्ती जिल्लाहरूबाट बर्दिवास हुँदै काठमाडौं, पोखरा जस्ता सहरसम्म लागुऔषध जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले विशेष निगरानी बढाएको हो। पछिल्लो समय ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक बिकास बम नेतृत्वको प्रहरीले बिशेष संख्यामा लागुऔषधसहितको युवकलाई पक्राउ गरी कारबाही प्रक्रियामा ल्याएको तथ्यांक सार्वजनिक गरेको छ।
प्रहरी मात्रको प्रयासले अपराध नियन्त्रण सम्भव नहुने बोध गर्दै बर्दिवास प्रहरीले समुदायसँगको सहकार्यलाई विशेष महत्व दिएको छ। बर्दिवासको सामुदायिक तथा संस्थागत विद्यालयमा सचेतनामूलक कक्षा, महिला समूहसँग अन्तक्र्रिया, नगरपालिकाको वडास्तरीय बैठकहरूमा सहभागिता, र रात्रीकालीन गस्तीमा स्थानीय युवाको साथ सहयोग लिनेजस्ता गतिविधि समुदाय–प्रहरी साझेदारीका उदाहरण हुन्।
यस्तै प्रहरी नागरिकको साथी” अभियानमार्फत प्रहरीले नगरिकसँग प्रत्यक्ष सम्पर्क कायम गर्ने अभ्यास थालेको छ। यसले अपराध रोकथाममा सहयोग पुग्नुका साथै प्रहरी र नागरिकबीच विश्वास र आत्मीयता बढेको छ।
बर्दिवासको अपराध नियन्त्रणमा प्रहरी सक्रिय भए पनि प्रहरीका केही चुनौतीहरू यथावत छन्। जनसंख्या तीव्र रूपमा बढ्दै जाँदा अपराधको स्वरूप पनि बदलिँदै गएको छ। अनियन्त्रित बसोबास, बेरोजगारी, गरिबी, सीमापारको अपराधिक सञ्जाल, र डिजिटल अपराध जस्ता चुनौतीले प्रहरीलाई अपराध नियन्त्रणगर्न सजिलो छैन्।
त्यसैगरी, पर्याप्त जनशक्ति अभाब, अत्याधुनिक उपकरण र पूर्वाधारको कमीले पनि प्रहरीलाई काम गर्न कठिनाइ छ। उदाहरणका लागि, सिसीटिभी क्यामेराको उपयुक्त जडान संख्यामा कमी,अपराध अनुसन्धानका लागि आवश्यक प्राविधिक प्रयोगशाला सुविधाको अभाव, तथा सीमित सवारी साधन र कार्यालयमा थोरै प्रहरुीको दरबन्दिका कारण अपराध नियन्त्रणलाई अझ सशक्त बनाउन बर्दिवासका प्रहरीलाई ठुलै चुनौती छ।
यसै क्रममा बर्दिवासलाई अपराधमुक्त शहर बनाउने दीर्घकालीन दृष्टिकोण अनुसार प्रहरीले केही नयाँ पहल सुरु गर्न लागेको छ। सार्वजनिक स्थलमा थप सिसीटिभी क्यामेरा जडान, डिजिटल अपराध (साइबर क्राइम) अनुसन्धानकालागी नयाँ योजना महिला–बालबालिका मैत्री सेवालाई सुदृढीकरण, र ईलाका प्रहरी कार्यालय बर्दिवासको मातहतमा रहेका सामुदायिक प्रहरी चौकीहरूको सञ्चालनलाई थप प्रभाबकारी जस्ता बिषय प्राथमिकतामा छन्। यसैगरी नगरपालिका र प्रहरीबीच सहकार्यलाई अझ बलियो बनाउने लक्ष्य पनि राखिएको छ। विद्यालयस्तरमै कानुनी शिक्षा र अपराधबारे सचेतना फैलाउने, महिलालाई आत्मरक्षाकोलागि तालिम दिने, र स्थानीय तहमा शान्ति सुरक्षा समितिलाई प्रभावकारी बनाउने योजनाले भविष्यमा अपराध नियन्त्रणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
बर्दिवास नगर अपराधका दृष्टिले संवेदनशील क्षेत्र भए पनि प्रहरीको सक्रियता र समुदायसँगको साझेदारीले अपराध नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यस्लाई थप प्रभाबकारी बनाउन अझै केही चुनौतीहरू भए पनि आधुनिक प्रविधि, पर्याप्त स्रोतसाधन, र स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेमा बर्दिवासलाई सुरक्षित, शान्त र व्यवस्थित नगरका रूपमा स्थापित गर्न सकिने देखिन्छ।





































