आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा रहेका फरक क्षमता भएका नगरवासीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार हुने भएको छ ।
आडरा नेपालको आर्थिक सहयोग, बर्दिवास नगरपालिकाको सहकार्य तथा समन्वयमा गैरसरकारी संस्था समृद्ध नेपालले सञ्चालन गर्न लागेको “फरक क्षमता भएका नगरवासीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार परियोजना“ अन्तरगत लाभग्राहीहरुलाई व्यवसायिक अवसर प्रदान गरिने भएको हो।
नगर उप–प्रमुखको पहलमा परियोजनामा सहभागिता सुनिश्चित गर्न वडानम्बर १, २, ३, ८, ९, १३ र १४ गरी ७ वटा वडाबाट सिफारिस भएका ४१ जना लाभग्राहीलाई समावेश गरिएको छ। सहभागी छनोट निर्देशिका २०८१ अनुसार गरिएको छनोटमा ३१ जनाले तीन चरणमा व्यवसायिक तालिमसमेत प्राप्त गरेका छन्।
यसै सन्दर्भमा नगरपालिकाले लैङ्गिक समावेशी बजेट कार्यशाला गोष्ठीसमेत सम्पन्न गरेको छ। गोष्ठीमा सहभागी फरक क्षमता भएका व्यक्तिहरुलाई दैनिक उपभोग्य सामाग्रीको पसल, बाख्रापालन, गाईपालन, कुखुरापालन र खाजा पसल सञ्चालन गर्न समेत सहयोग गरिने भएको छ।
सहयोग स्वरूप प्रत्येक लाभग्राहीलाई पहिलो किस्तामा रु. १५ हजार र दोस्रो किस्तामा रु. ५ हजार गरी जम्मा रु. २० हजार उपलब्ध गराइने जानकारी समृद्ध नेपालका अध्यक्ष भिम बहादुर आले मगरले दिएका छन्।
यस परियोजनाबाट फरक क्षमता भएका नगरवासीहरु आत्मनिर्भर भई आर्थिक तथा सामाजिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
