आज्ञा खबर
जनकपुरधाम
सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डबारे छानबिन गर्न परमादेश जारी गरेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता–कार्यकर्ताले सोमबार साँझ जनकपुरलगायत मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन्।
जनकपुरधामको रामानन्द चौकमा कार्यकर्ताले सडक अवरुद्ध गर्दै टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘उपेन्द्र यादवमाथि भइरहेको षड्यन्त्रको अन्त्य गर’ र ‘षड्यन्त्रकारी होसियार’ जस्ता नारा लगाएका थिए।
मधेश प्रदेशसभा जसपाका प्रमुख सचेतक राम आशिष यादवले परमादेश फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिए। उनले कांग्रेस–एमाले गठबन्धनले पहिचानको राजनीति गर्ने शक्तिलाई कमजोर बनाउन योजनाबद्ध चाल चलिरहेको आरोप लगाए।
त्यस्तै, जसपा धनुषाका अध्यक्ष पशुपति यादवले भूमि अध्यादेश पारित नगरेको विषयलाई कारण बनाएर अध्यक्ष उपेन्द्र यादवविरुद्ध षड्यन्त्र गरिएको दाबी गरे। सर्वोच्चको आदेश आएलगत्तै पार्टीले प्रतीकात्मक विरोध कार्यक्रम सुरु गरेको र चाँडै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए।
सर्वोच्च अदालतले सोमबार गौर घटनामा संलग्न दोषीहरूलाई अनुसन्धान गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो।
