नयाँ उत्साह र नेतृत्व उत्पादनको अभ्यास : बर्दिबास–१२ मा तरुण दलको वडा अधिवेशन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाल तरुण दलको पाँचौँ अधिवेशनअन्तर्गत सोमबार सम्पन्न बर्दिबास नगरपालिका–१२ को वडा अधिवेशनले स्थानीय राजनीतिको माहोलमा नयाँ उत्साह भरिदिएको छ। नेपाली कांग्रेससँग आबद्ध यो युवा संगठनको अधिवेशनले केवल नेतृत्व चयन मात्र नभई संगठनात्मक चेतना र भविष्यप्रतिको आशालाई बलियो बनाएको देखिन्छ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. १ का महासमिति सदस्य तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले युवाशक्ति सबल नभएसम्म संगठन बलियो नहुने प्रष्ट पारे। उनले भने,
“संगठनको सबल आधार युवा हुन्, बलियो संगठनले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउन सक्छ।”

उनको भनाइले उपस्थित युवामा आत्मविश्वास थप्नुका साथै राजनीतिक क्रियाशीलतालाई अझै प्रगाढ बनाएको सहभागीहरूले बताए।

अधिवेशनमा महाधिवेशन प्रतिनिधि अशोक कोइराला, कांग्रेस महोत्तरी क्षेत्र नं. १ (क) का प्रदेश सभापति गंगा राउत, नगर सभापति युवराज पोखरेल, तरुण दल जिल्ला अध्यक्ष विनय कुमार यादव, केन्द्रीय सदस्य मिनबहादुर कोइरालालगायतको उपस्थिति उल्लेखनीय थियो। वरिष्ठ नेताहरुको मार्गदर्शन र युवा कार्यकर्ताको उत्साहबीच अधिवेशनले संगठनलाई व्यवस्थित गर्न र भविष्यतर्फ अग्रसर बनाउन सन्देश दिएको छ।

युवा कार्यकर्ताहरूले संगठन विस्तार, स्थानीय राजनीति र कांग्रेसलाई बलियो बनाउन युवाको निर्णायक भूमिकाबारे विचार राखे। उनीहरूको भनाइमा पार्टीभित्र मात्र नभई समाज र राष्ट्र निर्माणमा पनि युवाको सक्रियता अपरिहार्य छ।

सहभागीहरूले वडा तहको अधिवेशनलाई नेतृत्व उत्पादनको अभ्यासको रूपमा व्याख्या गरे। उनीहरूका अनुसार यस किसिमका अधिवेशनहरूले युवालाई नगर, जिल्ला हुँदै केन्द्रीय तहसम्म नेतृत्व लिन सक्षम बनाउने अवसर सिर्जना गर्छन्।
“नयाँ ऊर्जा, नयाँ नेतृत्व र नयाँ अभियान” भन्ने मूल भावनासहित सम्पन्न अधिवेशनले राकेश सिंहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
जसको उपाध्यक्षमा संजिब सिंह सचिवमा धनराज महतो सह–सचिवमा फूलमती महतो कोषाध्यक्षमा रेनु कोईराला सदस्यहरूमा हरीनारायण महतो, किशोरी महरा, दुखरा सदा लगायतका रहेका छन ।

त्यसैगरी अधिवेशनले ८ सदस्यीय नगर अधिवेशन प्रतिनिधि चयन गरेको छ जसमा अल्का कुमारी सिंह, कौशिला देवी महरा, विजय थापा मगरलगायतका रहेका छन्। आजको वडा अधिबेशनले जिल्ला अधिवेशन प्रतिनिधिकालागी राम जनम महतो, भेषबहादुर थापा र फूलमती महतोलाई चयन गरेको छ।

बर्दिवास नगरपालिकाका नेपाली कांग्रेसका नगरसभापति युवराज पोखरेलका अनुसार यस अधिवेशनले संगठनलाई अझै सबल बनाउँदै कांग्रेसलाई आगामी दिनमा जनतामाझ थप जवाफदेही र प्रभावकारी बनाउन मद्दत गर्नेछ।
बर्दिबास–१२ को अधिवेशन केवल राजनीतिक कार्यक्रम मात्र नभई नयाँ पुस्तामा राजनीतिक चेतना जगाउने पाठशाला बनेको छ। यसले युवा पुस्तालाई भविष्यको राजनीतिक यात्रामा अग्रसर बनाउने सन्देश दिएको छ।

स्थानीय राजनीति र संगठनात्मक अभ्यासलाई सशक्त बनाउँदै अघि बढेको यस अधिवेशनले देखाएको ऊर्जा, नेतृत्व र संकल्पले कांग्रेसभित्र मात्र नभई समग्र समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...