आज्ञा खबर
जनकपुरधाम
पत्रकारमाथि आक्रमणमा संलग्न वकिलहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै आइतबार पत्रकारहरूले जनकपुरधाममा विरोध कार्यक्रम गरेका छन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषाको अगाडि बिहान ११ देखि १२ बजेसम्म धर्नामा बसेका थिए। “आक्रमणकारीलाई कारबाही गर”, “पत्रकारलाई सुरक्षा देऊ”, “प्रेस स्वतन्त्रताको रक्षा गर” जस्ता नारा अंकित प्लेकार्डसहित उनीहरूले प्रशासनविरुद्ध आवाज उठाएका हुन्।
तर, धर्नाप्रति स्थानीय प्रशासनले कुनै चासो नदेखाएको आरोप लगाउँदै पत्रकारहरूले “स्थानीय प्रशासन मुर्दाबाद”, “वकिलको दादागिरी बन्द गर”, “कानुनको पालना गर” भन्ने नारा लगाएका थिए।
गत साउन २७ गते गुठी संस्थानबाट लिजमा लिएको चार कठ्ठा जग्गा सुरक्षित गर्ने क्रममा नेपाल बार एशोसिएसन जनकपुरधामका पदाधिकारीसहित केही वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। सो घटनामा महासंघ प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय, विनिता यादव र अनिल निराला घाइते भएका थिए।
साउन २८ गते पाँच जना वकिलविरुद्ध किटानी जाहेरी दिइए पनि अहिलेसम्म प्रहरीले पक्राउ नगरेको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन्। महासंघले यसअघि पनि पटक–पटक दोषीलाई कारबाही गर्न माग गर्दै आएको छ।
गुठी संस्थानसँग वार्षिक तीन लाख एक हजार रुपैयाँ तिर्ने शर्तमा पत्रकार महासंघ मधेश प्रदेश समितिले उक्त जग्गा भवन निर्माणका लागि लिजमा लिएको थियो। तर, नेपाल बार एशोसिएसन जनकपुरधामले सो जग्गा अवैध रूपमा कब्जा गर्न खोजेपछि विवाद उत्पन्न भएको हो।





































