महिला उद्यमी महासंघ नेपाल, मधेश प्रदेशको अध्यक्षमा देबकुमारी पौडेल(सबिना) चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले पुरुषको सफलतामा महिलाको अग्रणी भूमिका रहने बताएका छन्। शुक्रबार महोत्तरीको बर्दिवासमा आयोजित महिला उद्यमी महासंघ नेपाल, मधेश प्रदेशको गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलालाई घरको ‘लक्ष्मी’ मान्दै, पुरुषको सफलतामा उनीहरूको योगदान सधैं अग्रस्थानमा रहेको उल्लेख गरे।

नगर प्रमुख क्षेत्रीले केवल परिवारलाई देखाउने मानसिकतामा सीमित भएर आर्थिक उपार्जन गर्ने प्रवृत्तिलाई त्यागी, समाज र देश बलियो बनाउने सोचका साथ अघि बढ्न सके छिट्टै आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने बताए। उनले नेपाल कृषि प्रधान देश भएकाले यहाँ उत्पादित खाद्यान्नको प्रभावकारी बजारीकरण गर्न सके मात्र आर्थिक समृद्धिको बाटो खुल्ने धारणा राखे।

उनले हाल कृषि उत्पादनमा विषादीको अत्यधिक प्रयोगले जमिन र मानव स्वास्थ्य दुवैको आयु घटाइरहेको बताउँदै अर्गानिक खाद्य सामग्रीको बजार माग दिन प्रतिदिन बढ्दै गएको तथ्य प्रस्तुत गरे। क्षेत्रीका अनुसार, बर्दिवास नगरपालिकाले महिलाको क्षमता अभिवृद्धिका लागि उपमेयर स्वरोजगार कार्यक्रममार्फत श्रमलाई सीप, सीपलाई रोजगारसँग जोड्ने कार्य गरिरहेको बताए। यसअन्तर्गत टपरी कारखाना, कपडा सिलाइजस्ता आत्मनिर्भर गतिविधि सञ्चालनमा छन्।

कार्यक्रममा मधेश प्रदेशकी निबर्तमान गृह, सञ्चार तथा कानुन मन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १(क) की प्रदेश सांसद शारदादेवी थापा प्रमुख अतिथि थिइन्। महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल, मधेश प्रदेशको ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
देबकुमारी पौडेल(सबिना) को अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्षमा चञ्चला दास, सचिवमा सुनैना ठाकुर, कोषाध्यक्षमा जानुका चौलागाँई र सदस्यहरूमा प्रतिमा कोईराला, संगम कुमारी गोलेलगायत रहेको संस्थाकी सदस्य प्रतिमा कोईरालाले जानकारी दिईन।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...