आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशका निजी अस्पतालहरूलाई गरिब र असहाय बिरामीका लागि निःशुल्क उपचारको स्पष्ट र पारदर्शी व्यवस्था गर्न आग्रह गरेका छन्।
उनका अनुसार, नेपाल सरकारको नियमअनुसार प्रत्येक अस्पतालले कम्तीमा १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने कानुनी प्रावधान भए पनि व्यवहारमा त्यसको पारदर्शिता नदेखिएको बताए । “छड्के अनुगमनका क्रममा सयौँ अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिन्छ,” सिंहले चेतावनी दिए, “त्यस्ता अस्पताललाई बन्द गर्न निर्देशन दिइसकेका छौँ, तर कतिपयले स्थानीय तहबाट कम बेडको अनुमति लिएर बढी बेड सञ्चालन गरिरहेका छन्।”
मुख्यमन्त्री सिंहले यो कुरा जनकपुरधाममा बिहीबारदेखि सेवा सुरु गरेको सर्वसुविधासम्पन्न आरोग्य निकेतन अस्पतालको उद्घाटन समारोहमा बताएका हुन्। कार्यक्रममा मधेश प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रदेश सांसदहरू तथा क्षेत्रका वरिष्ठ चिकित्सकहरू सहभागी थिए।
