आज्ञा खबर
बर्दिवास
अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा महोत्तरीको बर्दिवास नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ। “दिगो विकास, सुनौलो भविष्यको सार — स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने मुल नारासहित कार्यक्रम सम्पन्न भएको हो।
बर्दिवास नगरपालिकाको समन्वय तथा सहकार्यमा बर्दिवास युवा सञ्जाल र रोयम नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा युवाहरुको अवसर र चुनौतीबारे नगर प्रमुखसँग अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले युवालाई रोजगारमूलक अवसरसँग जोड्न बर्दिवास नगरपालिकाले लोकसेवा तयारी कक्षा, सीपमूलक तालिम, क्षमता अभिवृद्धि कार्यक्रम लगायतका विविध योजना सञ्चालन गर्दै आएको जानकारी दिए। उनले विकासमा युवाको साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै लागुऔषध दुव्र्यसनजस्ता सामाजिक विकृति नियन्त्रणका लागि तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा सहभागी युवायुवतीहरूले नगर विकास, शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक समस्याबारे आफ्ना जिज्ञासा राख्दै नगर प्रमुखसँग प्रत्यक्ष संवाद गरेका थिए। बर्दिवास युवा सञ्जालका अध्यक्ष सुरेन्द्र सासका अनुसार, युवाहरूको सक्रियता र सरोकारलाई सम्बोधन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
संयुक्त राष्ट्रसंघले सन् १९९९ मा स्थापना गरेको अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष अगस्ट १२ मा मनाइन्छ। यस वर्षको नाराः “युवाहरूको सहभागिताः दिगो भविष्यको आधार” रहेको छ। यो सन्देशमार्फत सामाजिक, आर्थिक र राजनीतिक निर्णय प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न आह्वान गरिएको छ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विश्व जनसंख्याको करिब १६ प्रतिशत हिस्सा १५ देखि २४ वर्षका युवाहरू छन्। नेपालमा भने यो अनुपात अझै उच्च रहेकोले युवालाई सामाजिक रूपान्तरण र आर्थिक प्रगतिमा निर्णायक शक्ति बनाउने सम्भावना उल्लेखनीय छ। विशेषज्ञहरूका अनुसार, युवाको सिर्जनशीलता र क्षमतालाई विकास योजनामा समेट्न सके दिगो र समावेशी विकास सम्भव छ।





































