आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाले नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सोमबार सूचना प्रकाशित गर्दै आगामी साउन ३० गते शुक्रबार बिहान ११ बजेदेखि बर्दिवास–१ स्थित श्री देराली माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन हुने जनाएको हो।
प्रतियोगितामा बर्दिवास नगरपालिका अन्तर्गतका माध्यमिक तहमा सञ्चालन भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयले अनिवार्य रुपमा सहभागी हुनुपर्नेछ। सूचना प्रकाशित भएको मिति देखी तीन दिनभित्र विद्यालयहरुले आफ्नो नाम शिक्षा, युवा तथा खेलकुद शाखामा दर्ता गराउनु पर्ने व्यवस्था गरिएको छ।
विद्यालयले सहभागिको नाम पठाउँदा कम्तीमा एक जना छात्रा अनिवार्य हुने गरी तीन जना प्रतिस्पर्धी पठाउनुपर्ने शाखाका अधिकृत गणेश प्रसाद दहालले जानकारी दिए।
नगरपालिकाले हाजिरीजवाफ प्रतियोगितामार्फत विद्यार्थीको बौद्धिक क्षमता, सामान्य ज्ञान तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

