आज्ञा खबर
बर्दिवास
महोत्तरीका गाउँ–बस्तीमा वर्षौंदेखि चल्दै आएको अर्मपर्म अर्थात् एकअर्काको खेतीपातीको काम आलोपालो गरेर सघाउने सामाजिक परम्परा अहिले लोप हुने अवस्थामा पुगेको छ । केहि बर्ष पहिले महोत्तरीमा बारीमा बाली रोप्नेदेखि बिउ उखल्ने सम्म वरपरका छरछिमेक मिलेर गरिन्थ्यो, अहिले त्यस्तो सामूहिक सहकार्य खोज्न मुस्किल छ ।
बर्दिवास नगरपालिका–१२ बिजलपुराका अनुभवी किसान श्याम महतो भन्छन्, “पहिले खेतालाको खोजी हुन्थ्यो तर आज खेतालाका लागि पैसा दिए पनि पाउन मुस्किल छ । युवा श्रमशक्ति गाउँ छोडेर सहर र विदेशतिर पलायन भइसकेका छन्, जसले गर्दा गाउँमा परम्परागत कामहरुमा निकै कमी आएको छ।”
उनका अनुसार, खेतालाको अभावले खेतीपातीमा आधुनिक प्रविधि र रासायनिक विषादीको प्रयोग बढेको छ, जुन खेतीको एक मात्र विकल्प बन्न पुगेको छ । “आजकलको युवापुस्ताले खेतीप्रति चासो कम देखाउने गरेका छन्, त्यसैले परम्परागत अर्मपर्म जस्तो सांस्कृतिक सहकार्यको अन्त्य हुँदै गएको छ ।
त्यस्तै, बर्दिवास–१०खयरमाराका किसान भीमनाथ गौतमले भने, “अर्मपर्म भनेको केवल काम गर्ने मेलो मात्र होइन, भावनात्मक र सामाजिक सम्बन्ध जोड्ने साँस्कृतिक पुल थियो । हामीले गीत गाउँदै, खाजा साटासाट गर्दै काम गथ्र्यौं, जसले सामुदायिक एकता बढाउँथ्यो । तर अहिले त्यो सबै परम्परा लोप उन्मुख अवस्थामा पुगेको छ।
गाउँमा अर्मपर्मको यस परम्परागत प्रणालीले नजिकका मानिसबीच विश्वास र मेलमिलाप बढाउने मात्र नभई, श्रम विभाजन गरेर कामलाई रमाइलो र सहज बनाउने काम गथ्र्यो । तर, पछिल्लो समयमा युवाको पलायन, आधुनिक कृषि यन्त्रको प्रयोग र वैदेशिक रोजगारीले गाउँघरको सामूहिक सहकार्यलाई कमजोर पारेको स्थानीय कृषकहरू बताउँछन्।
स्थानीयहरूका लागि यो परम्परा केवल खेती मात्र होइन, सामाजिक र सांस्कृतिक पहिचानसमेत हो । तर अहिलेको युगमा प्रविधि र आधुनिकताले जुन सहुलियत ल्याएको छ, त्यसले परम्परागत अर्मपर्मको स्थान लिइसकेको छ भने, त्यसले दिने आपसी भरोसा र सद्भावको कमी अझै पूर्ति हुन सकेको छैन ।





































