आज्ञा खबर
सर्लाही
सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला कारागारमा क्षमता भन्दा निकै बढी कैदीबन्दी राखिनु परेपछि प्रशासन व्यवस्थापनमा चर्को दबाब परेको छ।
कारागारको आधिकारिक क्षमता १६० जना पुरुष र ५० जना महिला कैदीबन्दीका लागि हो। तर हाल यहाँ ३ सय ३३ जना पुरुष र ३८ जना महिला कैदी रहेका छन्। महिला कैदीसँगै पाँच जना बालबालिका पनि कारागारमै बसिरहेका छन्। पुरुषतर्फ मात्रै क्षमता भन्दा १सय ७७ जना बढी कैदी हुँदा बस्न र सुत्न गाह्रो परेको निमित्त कारागार प्रशासक असरफ हुसेन गद्धीले जानकारी दिए।
हुसेनका अनुसार, थोरै ठाउँमा धेरै कैदी भएपछि कोठा, बरन्डा र सिँढीसम्म भरिएको छ। गर्मीका दिनमा भित्रै समस्याको अवस्था आएपछि बाहिर पाल टाँगेर सुताउने अभ्यास गर्नुपरेको छ। महिला कैदीतर्फ भने क्षमता भन्दा कम भएकाले त्यस्तो भौतिक समस्या छैन।
मलंगवा कारागारमा सर्लाहीसहित रौतहट, महोत्तरी, बारा, सिन्धुली, सिरहा, सप्तरीलगायत २० भन्दा बढी जिल्लाका कैदीबन्दी राखिएका छन्।
कैदीबन्दीका अगुवा तथा चौकीदार मनोजकुमार चौधरीका अनुसार, ठाउँको अभावले कैदीहरू खेलकुद वा सामान्य हिँडडुल पनि गर्न सक्दैनन्। “खानपिन वा कामको त समस्या छैन, तर सुत्ने र बस्ने ठाउँ साँघुरो भएकाले सबैजना असजिलो महसुस गर्छन्,” चौधरीले भने।
कैदीबन्दीहरू हाल गलैचा बुन्ने, सिलाइकटाइ गर्ने, मुढा बनाउनेजस्ता सीपमूलक काममा संलग्न छन्। तर कैलाली कारागारमा जस्तो ठूलो उत्पादन र सीप विकास कार्यक्रम भने मलंगवामा छैन।
कारागारको सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।





































