आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–४ अन्तर्गत गणन्ता सब डिभिजन वन कार्यालय क्षेत्रको पूर्वतर्फ पर्ने भव्सी खोलामा शुक्रबार राति एक वयस्क हरीण घाइते अवस्थामा फेला परेको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगतको सो सडक खण्डको दुबै तर्फ घना वन क्षेत्र रहेकाले हरीण त्यही बन क्षेत्रबाट सडकमा निस्किएको हुन सक्ने वन कार्यालयको अनुमान छ। सवारीसाधनको ठक्करबाट घाइते भएको आशंका गरिएको उक्त हरीणलाई गणन्ता सब डिभिजन वन कार्यालयका कर्मचारीको टोलीले तत्काल उद्धार गरेको थियो।
वन अधिकृत उमेश मण्डलका अनुसार उद्धारपछि तत्कालै बर्दिवास नगरपालिकाको पशु सेवा शाखामा जानकारी गराइएको थियो। सोही जानकारीका आधारमा शाखा प्रमुख बिमल कान्त यादवको नेतृत्वमा गएको टोलीले शनिबार बिहान हरीणको उपचार गरेको हो।
उपचारमा संलग्न पशु चिकित्सकका अनुसार हरीणको पिठ्यु, मुख, ढाडसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल हरीणको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र पूर्ण निको भएपछि पुनः वन क्षेत्रमा छाडिने वन कार्यालयले जनाएको छ।
