आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाभित्रका वडानम्बर १२ र १३ जोड्ने सडक तथा वडा नम्बर ७ र ९ जोड्ने सडकको मर्मत र स्तरोन्नती (ग्रेवल) गरिने भएको छ। वर्षायामको समयमा सडकमा खाल्टाखुल्टी बनेपछि पानी जमेर यहाँका स्थानीयहरूलाई पैदल हिँड्न र सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको थियो।
यस सम्बन्धमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले स्वयं अनुगमन गरी तत्काल सडक स्तरोन्नती गर्न निर्देशन दिएको नगरपालिकाका प्राविधिक शनी चौधरीले जानकारी दिए। नगर प्रमुखको निर्देशन अनुसार ती सडकहरूमा छिट्टै मर्मत तथा ग्रेवलिङ गरिनेछ, जसले गर्दा वर्षायाममा पानी जम्ने समस्या हट्नेछ र स्थानीयवासीका लागि सहज यात्रा गर्ने व्यवस्था सुनिश्चित हुनेछ।
बर्दिवास नगरपालिकाले सडक मर्मतसम्भारमार्फत स्थानीय जनताको दैनिक आवतजावतमा आएको असुविधालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





































