आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले आफ्नो क्षेत्रमा दर्ता भएका व्यवसायीहरूको व्यवसाय नवीकरणमा लाग्ने जरिवानामा ठूलो छुट दिने निर्णय गरेको छ। नगरपालिकाको आर्थिक ऐन २०८२ का अनुसार, व्यवसाय नवीकरणमा अब ७५ प्रतिशत जरिवाना छुट प्रदान गरिने भएको हो।
नगरपालिकाको राजस्व प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार, विगतका वर्षहरुमा विभिन्न कारणले व्यवसाय नवीकरण गर्न छुटेका व्यवसायीहरूले यस वर्षको असोज महिनाको अन्त्यसम्ममा नवीकरण गरेमा जरिवानामा ७५ प्रतिशत छुट पाउनेछन्।
यो निर्णयले व्यवसायीहरूलाई व्यवसाय नवीकरण गर्न उत्प्रेरणा दिने र नगरपालिकाको राजस्व संकलनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। व्यवसायीहरूलाई उचित समयभित्र नवीकरण प्रक्रिया पूरा गर्न नगरपालिकाले अनुरोध गरेको छ।
बर्दिवास नगरपालिका राजस्व प्रशासन शाखाले भनेको छ, “यस छुटको लाभ लिन व्यवसायीहरूले छिटो भन्दा छिटो आफ्नो व्यवसाय नवीकरण गराउनुपर्नेछ, ताकि कर तथा जरिवानामा राहत पाउन सकून्।”
बर्दिवास क्षेत्रका व्यवसायीहरूले यो अवसरको सदुपयोग गरी व्यवसाय नवीकरण गराउनुपर्नेमा जोर दिइएको छ।

