आज्ञा खबर
सर्लाही,
सर्लाही जिल्लाको सीमावर्ती बलरा नगरपालिका–१, छन्की टोलमा शनिबार साँझ भएको झडपमा तीन नेपाली युवक घाइते भएका छन्। झडप भारतीय नागरिकको चक्कु प्रहारबाट भएको हो। रक्सी सेवनसम्बन्धी विवादले उब्जाएको उक्त घटनाले सीमा सुरक्षाको अवस्था र भारत–नेपाल सीमावर्ती क्षेत्रको सामाजिक तनावबारे फेरि प्रश्न खडा गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका–१ निवासी २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल घाइते भएका हुन्। उनीहरूलाई बलरास्थित धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार उनीहरूको अवस्था खतरामुक्त छ।
चश्मदीदहरूका अनुसार घटना शनिबार साँझ भारतबाट आएका अमन सिंह, विकास सिंह, अटल राय, अवशेख सिंहलगायत युवाहरूले मदिरा सेवनको क्रममा विवाद उत्पन्न भएपछि चक्कु निकालेर आक्रमण गरेका थिए। आक्रमणपछी ती सबै भारतीय युवक भागेर आफ्नै देशतर्फ गएका थिए।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गडहिया र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट दुई जना प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। तर आक्रमणकारीहरू तत्काल भारतीय सीमातर्फ लागेकाले पक्राउ गर्न नसकिएको प्रहरी स्रोतले जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार भारतको बिहार राज्यमा मदिरा बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लागु भएकाले सीमापारिका केही युवाहरू नेपालतर्फ आएर मदिरा सेवन गर्ने क्रम बढ्दो छ। यसले सीमावर्ती क्षेत्रमा अपराधिक गतिविधि र तनाव सिर्जना गरिरहेको छ।
सीमा क्षेत्रमा कानून र शान्तिसुरक्षाको प्रत्याभूति गराउन नेपाल र भारत दुवै सरकारबीच समन्वय आवश्यक रहेको स्थानीयवासीहरूको भनाइ छ।





































