आज्ञा खबर
सर्लाही
गमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जन र ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। विशेष अदालतले बुधबार थापालाई कैद सजायसहित ठूला आर्थिक जरिवानाको फैसला सुनाएको हो।
विशेष अदालतको संयुक्त इजलास — न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाले आफ्नो कानुनी आम्दानीभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको पुष्टि गरेको छ। अदालतका अनुसार थापाको कुल आम्दानी ९ करोड १४ लाख ३१ हजार रुपैयाँ भए पनि खर्च १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ देखिएको छ।
उक्त अन्तरको स्रोत पुष्टि गर्न नसकिएपछि अदालतले थापालाई एक वर्षको कैद सजाय र गैरकानुनी सम्पत्तिको रकम बराबरको जरिवाना हुने फैसला गरेको हो।
यतिमात्र होइन, अदालतले बागमती नगरपालिकाको नदीजन्य पदार्थको ठेक्कापट्टामा ३० करोड २९ लाखभन्दा बढीको हानिनोक्सानी गराएको अर्को मुद्दामा समेत मेयर थापालाई दोषी ठहर गरेको छ। यस सम्बन्धी सजाय तोक्नका लागि अदालतले अर्को पेशी तोकेको छ।
सिर्जनात्मक ढंगले ‘भरत ताल’ निर्माण गरेर केही समय चर्चा बटुलेका थापा, माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन्। उनको कार्यकालमा योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल पनि भ्रष्टाचार प्रकरणमा मुछिएका छन्। विशेष अदालतले उनीहरूलाई समेत दोषी ठहर गरेको छ।
यता, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका पूर्व प्रमुख मेथुर चौधरी भने अदालतबाट सफाइ पाएका छन्।





































