आज्ञा खबर
धनुषा
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा निर्माणाधीन संरचनाहरूको प्रगति प्रत्यक्ष अवलोकन गर्न नेकपा एमालेका वरिष्ठ नेता र पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ सोमबार नगर पुगे। नगर प्रमुख सुखदेव यादव, एमाले नगर अध्यक्ष अनिल चौधरी लगायतको टोलीसहित महासेठले विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्।
सखुवा बजारमा निर्माण भइरहेका सभा हल र वडा नं. ७ दुर्गाटोलस्थित दुर्गा तुलसी राप्ति प्रा.वि. को भवन निर्माण स्थलमा पुगेर महासेठले कार्यको अवस्था, गुणस्तर र पारदर्शिताबारे जानकारी लिए। अवलोकनका क्रममा उनले ठेकेदार कम्पनीलाई समयसीमा भित्रै काम सम्पन्न गर्न र जनताको हितलाई ध्यानमा राख्दै मापदण्डअनुसार कार्य गर्न स्पष्ट निर्देशन दिए।
त्यसैगरी, सखुवा बजारदेखि दुधमती चौकसम्म कालोपत्रे भइरहेको सडक आयोजनाको प्रगति पनि महासेठले अवलोकन गरे। उक्त सडकले स्थानीय यातायात सहज बनाउने मात्र नभई समग्र आर्थिक गतिविधिमा गति दिने अपेक्षा गरिएको बताउँदै उनले निर्माणको गुणस्तरप्रति कुनै किसिमको लापरवाही नगरिनुपर्नेमा जोड दिए। “बजार, विद्यालय, स्वास्थ्य संस्था जस्ता सेवासम्पर्क बिन्दुहरूसम्म सहज पहुँचका लागि यो सडक अत्यन्त महत्त्वपूर्ण छ,” उनले भने, “योजना मापदण्ड र समयसीमा दुवैलाई पालना गर्दै अगाडि बढ्नुपर्छ।”
नगर अध्यक्ष अनिल चौधरीले अवलोकनपछि प्रतिक्रिया दिंदै भने, “सभा हल र विद्यालय भवन केवल संरचना होइनन्, यी नगरको शैक्षिक, सामाजिक र राजनीतिक विकासको आधार हुन्।” उनले नगरपालिकाले विकास निर्माणको हरेक पक्षमा निगरानी बढाउने प्रतिबद्धता जनाए।
अनुगमनमा स्थानीय जनप्रतिनिधि, एमालेका नेता तथा सरोकारवाला समुदायका व्यक्तिहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।





































