सरकारको अनुदान कटौतीविरुद्ध उखु किसानको सक्रिय विरोध, टायर बाल्दै प्रदर्शन सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
उखु किसानलाई सरकारले यस वर्ष अनुदान रकम कटौती गरेपछि ठूलो आक्रोश फैलिएको छ। आजदेखि देशका विभिन्न जिल्लामा किसानहरूले आफ्नो स्थानीय चिनी उद्योग अगाडि टायर बालेर विरोध प्रदर्शन सुरु गरेका छन्। सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लामा तीनवटै प्रमुख चिनी मिल अगाडि उखु किसानहरू उत्रिएका छन्।

इन्दुशङ्कर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह अगाडि किसानहरूले आन्दोलित स्वरुप सरकारको निर्णयप्रति आफ्नो असन्तुष्टि प्रकट गरेका छन्। किसानहरूले २०६६ सालमा कडा आन्दोलनपछि शुरु भएको उखुको अनुदान रकम निरन्तरता दिन सरकारसँग माग राखेका छन्। साथै, गत वर्ष बिक्री भएको उखुको लागि सरकारले निर्धारण गरेको प्रतिक्विन्टल ७० रुपियाँ अनुदान रकम तुरुन्त भुक्तानी गर्न र उखुको मुल्य निर्धारण वार्ताको प्रक्रिया सुरु गर्न समेत आग्रह गरेका छन्।

सरकारले अनुदान रकम आधा घटाएर प्रतिक्विन्टल ३५ रुपियाँ मात्र दिन लागेको चर्चा भएपछि उखु किसानहरू असन्तुष्ट भएका छन्। केन्द्रीय उखु सङ्घर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीका अनुसार, साउन महिनाभित्र किसानहरूको माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि उखु किसानहरू माइतीघरमा धर्नामा बस्ने निर्णय गरेका छन्।

उखु किसानहरूले प्रधानमन्त्री, कृषि मन्त्रीलगायतलाई ज्ञापनपत्र बुझाएर शान्तिपूर्ण रूपमा माग राखिसकेको पनि सह–संयोजक उप्रेतीले जानकारी दिएका छन्। उनले भने, “अनुदान कटौतीले किसानहरू उखु खेतीबाट पछि हट्नेछन् र चिनी उद्योगहरू बन्द हुने अवस्थामा पुग्नेछन्। यसले देशमा चिनी अभावको संकट निम्त्याउनेछ।”

देशव्यापी रुपमा उखु किसानहरू आ–आफ्नो क्षेत्रमा आन्दोलनको स्वर बढाइरहेका छन् र तत्काल सरकारले किसानहरूको मागलाई गम्भीरतापूर्वक लिनुपर्ने चेतावनी दिएका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...