आज्ञा खबर
जनकपुरधाम
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले अब आफ्नै स्थायी भवन निर्माण गर्ने सपना साकार गर्ने चरणमा प्रवेश गरेको छ। जनकपुरधामको मुटुमा अवस्थित ४ कठ्ठा जग्गा लिजमा प्राप्त गरेसँगै महासंघले भवन निर्माणको तयारी थालिएको हो।
सोमबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा गुठी संस्थान र महासंघबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। उक्त सम्झौता अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको श्रीराम मन्दिर गुठीअन्तर्गतको चार कठ्ठा जग्गा पत्रकार महासंघलाई लिजमा उपलब्ध गराइनेछ।
महासंघको तर्फबाट अध्यक्ष श्याम बन्जारा र गुठी संस्थानको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुवँरले सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ र गुठीका प्रमुख ईन्जिनियर शालिकग्राम सुवेदी साक्षीका रूपमा उपस्थित थिए।
समारोहमा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दहाल, सचिव रमेश खतिवडा, केन्द्रिय लेखा संयोजक केसि लामिछाने, प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, सचिव हदिस खुदार, सदस्य अजय साह, साथै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा समेत सहभागी थिए।
सम्झौता सम्पन्न भएपछि अध्यक्ष श्याम बन्जाराले गुठी संस्थानप्रति आभार व्यक्त गर्दै भने, ूयो सहकार्यले मधेश प्रदेशमा पत्रकारिता क्षेत्रको संस्थागत विकासको ढोका खोलिदिएको छ। अब प्रदेशस्तरीय भवन निर्माणको सपना पुरा हुने छ।ू
जनकपुरको संवेदनशील र केन्द्रिय स्थानमा रहेको यो जग्गामा महासंघले आधुनिक पूर्वाधारयुक्त भवन निर्माण गर्ने योजना बनाएको छ। पत्रकारिता पेशाका लागि आवश्यक स्रोत, संरचना र सेवाहरू एकै स्थानबाट उपलब्ध गराउने लक्ष्य महासंघले लिएको छ।





































