मधेसमा पानी आएपछि धान रोपाइँमा तीव्रता, ६३ प्रतिशत खेतमा पुग्यो रोपाइँ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

तीन दिनदेखिको लगातारको वर्षाले मधेस प्रदेशका किसानहरूलाई ठूलो राहत मिलेको छ। पानी अभावका कारण खडेरीको मारमा परेका किसानहरूले ढिलो भए पनि धान रोपाइँ सुरु गरेका छन्।

मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षा सुरु भएपछि प्रदेशभर धान रोपाइँ ६३ प्रतिशत पुगेको छ। बारा र पर्सा जिल्लामा रोपाइँ सकिएको जानकारी दिँदै निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादव भन्छन्, ूअरू जिल्लामा रोपाइँ तीव्र गतिमा भइरहेको छ। अझ केही दिन वर्षा कायम रहे बाँकी खेतमा पनि रोपाइँ सम्पन्न हुनेछ।ू

गत महिना पानी नपरेपछि प्रदेश सरकार सुक्खाग्रस्त क्षेत्र घोषणातर्फ अघि बढेको थियो। तत्काल राहतस्वरूप कृषिज्ञान केन्द्रमार्फत स्यालो ट्युबबेल वितरण गरेर किसानलाई सिँचाइ सहयोग दिइएको थियो।

प्रदेशको कृषि तथ्यांकअनुसार मधेसमा कुल ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। सामान्य वर्षमा साउनको दोस्रो हप्तासम्म अधिकांश खेतमा रोपाइँ सकिने गरिन्छ। तर, यो वर्ष पानी ढिलो परेपछि खेत बाँझिने चिन्ता बढेको थियो।

प्रदेशका अधिकांश क्षेत्रमा अझै पनि आकाशेपानीमा भर परेर खेती गर्ने प्रवृत्ति कायमै छ। निर्देशनालयका अनुसार करिब ६५ प्रतिशत खेत अझै पनि प्रकृतिमा निर्भर छन्। यद्यपि, डिप ट्युबबेल, बोरिङ, स्यालो ट्युबबेल र केही नहर प्रणालीमार्फत सिँचाइ सुविधा विस्तार भइरहेको छ।

अब वर्षा स्थिर रहन सकेमा किसानहरू आफ्नो मुख्य बालीको उत्पादनमा खासै घाटा नहुने आशावादी छन्। तर, जलवायु अनिश्चितताको बीचमा दीर्घकालीन सिँचाइ पूर्वाधारको आवश्यकता भने दिनदिनै बढ्दो छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...