आज्ञा खबर
बर्दिवास
“अब खेत बाँझो बस्दैन, पानीकै लागि आकाश हेर्ने दिन गइसके,” बर्दिवास–७ का कृषक विष्णु महतोको अनुहारमा नयाँ आशाको उज्यालो देखिन्थ्यो।
वर्षौँदेखिको प्यास, अभाव र प्रतीक्षाबीच आइतवार बर्दिवास–७ मा सिँचाइ तथा खानेपानीका लागि डिप बोरिङ उद्घाटन भएपछि उनीजस्ता किसानका अनुहारमा खुसी झल्किन थालेको छ। नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहले यो परियोजनालाई केवल विकास निर्माणको पाटोमा सीमित राखेन, यो बर्दिवासको भूमिमा फेरि उत्पादनको गर्जन ल्याउने सुरुआतको संकेत बन्यो।
१ सय ६० मिटर गहिराइसम्मको यो डिप बोरिङबाट करिब २५ बिघा जमिनमा सिँचाइ सम्भव हुने प्राविधिकहरूको आँकलन छ। विगतमा सिँचाइ अभावका कारण दुई पटक बाली लगाउन नसकेका कृषकहरूले अब वर्षमा तीनवटा बाली उत्पादन गर्ने सम्भावना देखिरहेका छन्। “अब खेतमा पानी त पुग्ने भयो, अब हाम्रो पसिनाको मूल्य पनि बढ्नेछ,” विष्णु महतोले आशावादी स्वरमा भने।
नगरप्रमुख क्षेत्रीले कार्यक्रममै स्पष्ट पारे, “स्थानीयको आवश्यकतालाई बुझेर, बास्तविक समस्या पहिचान गर्दै हामी अगाडि बढेका हौं। खानेपानी र सिँचाइलाई नगरपालिका सधैं प्राथमिकतामा राख्छ।”
यस योजनाको संरचना नगरपालिकाले निर्माण गरेको हो भने, स्थानीय बासिन्दाले श्रमदान र व्यवस्थापनमा सहयोग गरेका छन्। यस्तो सहकार्यले विकासलाई स्वामित्वको भावनासहित अगाडि बढाएको छ।
खासगरी महिला र बालबालिका—जो केहि समय अघिसम्म बिहान–बेलुका टाढाटाढाबाट पानी ल्याउन बाध्य थिए—अब घरनजिकै पिउने पानी पाउँदा राहतको सास फेरेका छन्। “अब दिनको २–३ घण्टा समय बचत हुन्छ, जुन हामी घरको काम, साक्षरता कक्षा वा अन्य आम्दानीमूलक काममा प्रयोग गर्न सक्छौं,” स्थानीय महिलाहरूले बताए।
मितलाल महतोको नजरमा यो डिप बोरिङले केवल पिउने पानी होइन, आत्मनिर्भरताको ढोका खोलिदिएको छ। “यसले आत्मसम्मान जगाएको छ,” उनले थपे।
डिप बोरिङको सफलता केवल वडास्तरीय राहतमा सीमित छैन। नगर प्रमुख क्षेत्रीले उद्घाटनपश्चात सञ्चारकर्मीसँग भने, “हामी हरेक वडामा आवश्यकताको आधारमा यस्ता संरचना विस्तार गर्दैछौं। अहिलेसम्म १ सयभन्दा बढी यस्ता संरचना निर्माण भइसकेका छन्।”
यसले नगरवासीमा ‘सरकार हामीसँगै छ’ भन्ने अनुभूति दिएको छ। स्थानीय सरकारको क्रियाशीलता, र जनसहभागिताको बलले गर्दा बर्दिवासमा विकास अब केवल सपना होइन, क्रमशः अनुभूत भइरहेको यथार्थ बनेको छ।
बर्दिवास–७ मा पानीको प्रवाहसँगै, विश्वासको प्रवाहसमेत बग्न थालेको छ। गाउँलेहरूको आँखामा अब केवल पानी होइन, उज्यालो भविष्यको छाया छ। सिँचाइले उत्पादन बढाउनेछ, पानीले स्वास्थ्य सुधार्नेछ, र संयन्त्रहरूले आत्मनिर्भरता निर्माण गर्नेछन्।
बर्दिवास ७ किसाननगरको डिप बोरिङको उद्घाटन कुनै सानो औपचारिकता थिएन—यो बर्दिवासको खेत–खल्यान, गाग्री र गाग्रीमा समेटिएको पीडाको उत्तर थियो।
अन्ततः, यो आयोजनाले देखाएको छ– जब स्थानीय सरकार इच्छाशक्ति, योजना र सहकार्यसहित अघि बढ्छ, तब पानीमात्र होइन, सपनासमेत बहन थाल्छन्।
