आज्ञा खबर
बर्दिवास
‘लागु औषधविरुद्ध हाम्रो चाहना, स्वस्थ र सुरक्षित समाजको कामना’ भन्ने नाराका साथ लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बर्दिवासले आर्थिक वर्ष २०८१÷८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ। ब्युरोले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्लामा निगरानी तथा अपरेसनमार्फत करोडौं मूल्य बराबरका विभिन्न प्रकारका लागु औषधसहित दर्जनौं अभियुक्त पक्राउ गरेको छ।
खैरो हिरोइन बरामद
ब्युरोको तथ्यांकअनुसार, प्रहरी टोलीले ५४९.८५ ग्राम खैरो हिरोइन बरामद गरेको छ। यस क्रममा ३५ जना पुरुष, २ जना महिला तथा २ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरूसँगै ४ थान मोटरसाइकल र २ वटा एम्बुलेन्ससमेत नियन्त्रणमा लिइएको छ। बरामद हिरोइनको बजार मूल्य करिब ४६ लाख ७३ हजार रुपैयाँ रहेको छ।
गाँजा तथा चरेस नियन्त्रण
ब्युरोले १५.९४ क्विन्टल गाँजा तथा चरेस बरामद गरेको छ। यस अभियोजनमा ६ जना पुरुष पक्राउ परेका छन् भने ३ थान मिनी ट्रक र ३ थान जिप कार समेत बरामद गरिएका छन्। बरामद पदार्थको अनुमानित बजार मूल्य १ करोड ९९ लाख रुपैयाँ बराबर रहेको छ।
नियन्त्रित औषधिजन्य एम्पुल
ब्युरोले ३,१४४ थान नियन्त्रित औषधिजन्य एम्पुल बरामद गरेको छ। यस मुद्दामा २ जना पुरुष पक्राउ परेका छन् भने १ थान मोटरसाइकल नियन्त्रणमा लिइएको छ। बरामद एम्पुलको बजार मूल्य करिब १२ लाख ५७ हजार रुपैयाँ रहेको बताइएको छ।
नाइट्रोभेट ट्याब्लेट
प्रहरी सर्च अपरेसनबाट ४,७९३ पिस नाइट्रोभेट ट्याब्लेट बरामद गरिएको छ। यसमा संलग्न २ जना पुरुष पक्राउ परेका छन्। सँगै २ थान मोटरसाइकल पनि बरामद गरिएको छ। ट्याब्लेटहरूको बजार मूल्य १२ लाख ८० हजार रुपैयाँ रहेको ब्युरोले जनाएको छ।
कोडिन मिश्रित सिरफ
ब्युरोले ३६४ बोतल कोडिन मिश्रित सिरफ बरामद गरेको छ। यस कार्यमा संलग्न ३ जना पुरुष पक्राउ परेका छन् भने २ थान मोटरसाइकल नियन्त्रणमा लिइएका छन्। बरामद सिरफको बजार मूल्य २ लाख ७३ हजार रुपैयाँ रहेको छ।
ईनफेड्रिन बरामद
ब्युरोले ८५४ ग्राम ईनफेड्रिन नामक लागु औषध बरामद गरेको छ। यस क्रममा ३ जना महिला र २ जना पुरुष पक्राउ परेका छन्। बरामद ईनफेड्रिनको बजार मूल्य ६८ लाख ३२ हजार रुपैयाँ रहेको छ।
लागु औषध नियन्त्रण ब्युरो बर्दिवासका शाखा प्रमुख प्रहरी नायव निरीक्षक सरोज अधिकारीले तीव्र निगरानी, गुप्त सूचना संकलन तथा सामुदायिक सहयोगका माध्यमबाट यस्तो सफलता सम्भव भएको जानकारी दिए।
उनका अनुसार, “लागु औषधको कारोबारविरुद्धको अभियान अझ कडाइका साथ अघि बढ्नेछ। समाजलाई सुरक्षित बनाउन प्रहरी, नागरिक समाज तथा सरोकारवाला निकायबीच सशक्त समन्वय आवश्यक छ।”
ब्युरोको यो सक्रियता लागु औषध विरुद्धको लडाइँमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। प्रहरी प्रशासनको प्रयाससँगै समाजको सहयोग र सचेतनाले मात्र यो दीर्घकालीन समस्या समाधान गर्न सकिने देखिन्छ।





































