मधेसमा वर्षाले खडेरीको पीडा कम गर्न थालेको संकेत, तुलसीमा सबैभन्दा बढी वर्षा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
दैनिक रुपमा चरम खडेरीको चपेटामा परेको मधेस प्रदेशका बासिन्दालाई पछिल्लो वर्षाले केही राहत मिलेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न स्थानमा सन्तोषजनक वर्षा भएको छ।

विशेषगरी धनुषाको मिथिला नगरपालिका ११ तुलसी क्षेत्रमा ६३.८ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन प्रदेशभरिमा सबैभन्दा बढी हो। त्यस्तै, बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र हर्दिनाथमा ५१ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

मौसम विज्ञहरूका अनुसार ५० मिलिमिटरभन्दा बढी वर्षालाई “भारी वर्षा“को सूचक मानिन्छ। तुलसी र हर्दिनाथमा परेको पानी सोही श्रेणीमा पर्छ भने अन्य स्थानमा “मध्यम वर्षा“को दरले पानी परेको छ।

सर्लाहीमा ३७.६ मिलिमिटर र महोत्तरीको गौशाला मापन केन्द्रमा ३२.४ मिलिमिटर वर्षा भएको छ। सिरहा र सप्तरीमा भने अझै उल्लेख्य पानी परेको छैन। तर पनि लामो समयपछि परेको यो वर्षाले जमिन भिज्न थालेको संकेत देखिएको छ।

स्थानीय किसानहरू यस वर्षाबाट निकै आशावादी देखिन्छन्। लगातारको खडेरीका कारण मकै, धान र तरकारी उत्पादन प्रभावित भएकोमा अहिलेको वर्षाले खेतबारीमा हरियाली फर्कने अपेक्षा गरिएको छ।

यसअघि असार मसान्तसम्म पनि पर्याप्त वर्षा नहुँदा किसानहरू धान रोपाइँमा निकै समस्यामा परेका थिए। अब भने झरीको लय नियमित भए बालीको उत्पादन सन्तोषजनक हुने अनुमान गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...