आज्ञा खबर
सर्लाही –
सर्लाहीको उत्तरवर्ती क्षेत्र ईश्वरपुर नगरपालिका–१२ स्थित घारिबथानमा सर्पको डसाइबाट एक महिलाको ज्यान गएको छ।
स्थानीय ५० वर्षीया सीता परियारको बिहीबार साँझ गोमन सर्पको डसाइबाट मृत्यु भएको हो। उनी साँझतिर सुँगुरलाई चारो हाल्न बाहिर निस्कँदा विषालु गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो।
घटनापछि परियारलाई तत्कालै नवलपुर सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो। तर, अवस्था गम्भीर भएकोले केन्द्रले प्रारम्भिक उपचारपछि भेन्टिलेटरको सुविधा रहेको जनकपुर रेफर गरेको वडा सदस्य खेमबहादुर बुढाथोकी ९दिनेश० ले जानकारी दिए। जनकपुर लैजाँदै गर्दा बाटोमै उनको निधन भएको बुढाथोकीको भनाइ छ।
उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवका अनुसार परियारको बोली लटपटिएको र थुक समेत निल्न नसक्ने स्थिति थियो। ‘हामीले १० भाइल एन्टीस्नेक भेनम दिएर जनकपुर पठायौं, तर अवस्था अत्यन्तै गम्भीर भएकाले यहाँ उपचार सम्भव थिएन’, यादवले भने।
उनका अनुसार केन्द्रमा भेन्टिलेटर तथा आइसियु जस्ता संरचना भए पनि सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति अभाव भएकाले गम्भीर अवस्थाका बिरामीको उपचार गर्न नसकिने अवस्था रहेको छ।
यसअघि पनि बागमती नगरपालिका–११, कर्मैयामा फर्सी टिप्न गएका बेला गोमन सर्पले डसेकी महिलाको समयमै उपचार नपाएर ज्यान गएको थियो।
हाल गर्मीयामको समय चलिरहेकोले तराई–मधेशका क्षेत्रमा विषालु सर्पको सक्रियता बढिरहेको छ। यसैकारण, विज्ञहरूले खेतबारी तथा घर आसपास सावधानी अपनाउन आग्रह गरेका छन्।
